विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यतरत डिएसपी दुर्गा प्रसाद दाहालसहित चार प्रहरी साउन महिनाको सर्वोत्कृष्ट घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार डिएसपी दाहालसहित जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक सरोज खनाल, इलाका प्रहरी कार्यालय दोहमना मोरङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार बिष्णु पराजुली र प्रहरी जवान समिप सुब्बालाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
सुनसरी र झापाको विभिन्न स्थानहरुमा २०८१ साल माघ १५ गते देखि ट्रान्सफर्मरहरु चोरीको घटनामा अनुसन्धान र संलग्नहरुलाई चोरीका सामान, पिकअप गाडी र मोटरसाइकलसहित पक्राउ गर्न सफल भएपछि चार जनालाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरीका अनुसार उनीहरुले नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरसँग समन्वय तथा सहकार्य गरेर मोरङको १० स्थान, सुनसरीको १२ स्थान र झापाको २ स्थान गरी जम्मा २४ स्थानमा ट्रान्सफर्मर चोरी भएको घटनाको अनुसन्धान गरेका थिए । त्यसक्रममा २०८२ साल साउन ९ गते चोरीमा संलग्न १२ जना व्यक्तिहरुलाई ट्रान्सफर्मर चोरी गर्न प्रयोग भएको विभिन्न औजारहरू र ट्रान्सफर्मरबाट निकालेको ३६८ किलो ५ सय ग्राम तामाको तार सहित पक्राउ गर्न सफल भएका थिए ।
प्रहरीले चोरी गर्न प्रयोग गरेको को.१ च ७७२९ नम्बरको पिकअप गाडी, विभिन्न कम्पनिहरुको ५ थान मोटरसाइकल र विभिन्न कम्पनीका १२ थान मोवाइल समेत वरामद गरेको थियो । अपराधिक गतिविधिमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको र आमनागरिकमा शान्ति सुरक्षाको अनुभूति गराएर आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट निर्वाह गरेकोले चार जनालाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।