धरान: नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलबार धरानमा पत्रकार सम्मेलन गरेर एमालेले डिजिटल घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले ुविकासमा हाम्रो दूरदृष्टिः शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं. १ को समृद्धिको आधारु भन्ने नारासहित प्रतिबद्धता सार्वजनिक गरेको हो । सुनसरी क्षेत्र नं १ मा एमालेबाट टिकाराम लिम्बु उम्मेद्वार छन् ।
निर्वाचन परिचालन कमिटी संयोजक एवं केन्द्रीय सदस्य मन्जु भण्डारीले डिटिटल घोषणापत्र सार्वजनिक गरेकी थिइन् । एमालेले बराहक्षेत्र-धरान, रामधुनी-धरान सडक, धरानबाट विष्णुपादुका मन्दिर, धनकुटाको आहाले, चाँदीबजार सडक, चिण्डेडाँडा, सुलिकोट, महाभारत पहुँच सडकलाई पुर्णता दिने जनाएको छ ।
यस्तै, सुनसरी क्षेत्र नं १ का पर्यटकीय क्षेत्रको एकीकृत पर्यटकीय गुरुयोजना तयार गरी पुर्वाधार निर्माण गर्ने, धरतीको पहिलो तीर्थस्थल बराहक्षेत्रको प्रर्वद्धन, पुर्णसुरक्षा तथा सौन्दर्यकरण गर्दै सहज आवागमनको लागि सुविधा सम्पन्न सडक निर्माण पुरा गर्ने पनि प्रतिवद्धता जनाएको छ।
चतरा सुर्यकुण्ड सडक निर्माण सम्पन्न गर्ने र सुर्यकुण्डको संरक्षण गरि कृषि तथा होमस्टे प्रर्वद्धन गर्ने पनि जनाएको छ । रासताल, शंकरवेली सिमसार, अमाह सिमसार हुदै सिंगो तराईलाई धरानसँग जोड्ने रणनीतिक महत्वका सडकहरु निर्माण पुरा गर्ने पनि एमालेले जनाएको छ ।
धरानबाट भेडेटार, नाम्जेसम्म सञ्चालन गर्ने प्रस्तावित केवलकार निर्माणका लागि सार्वजनिक निजी साझेदारी नीति अन्तर्गत सहजीकरण गर्ने पनि जनाएको छ । यसैगरि, विजयपुर दरबार, हिन्दुपति दरबारलगायत पुरात्तात्विक महत्वका क्षेत्रहरुको संरक्षण तथा पुननिर्माण गर्ने, धरान १४ स्थित बहुजातीय संग्रहालय निर्माण पुरा गरी सञ्चालनमा ल्याउने पनि जनाएको छ ।

खेलमैदानहरुको संरक्षण र स्तरोन्नती गर्दै धरानलाई खेकलुदको शहरका लागि तयार गरिएको गुरुयोजना अनुसार काम गर्ने, खेलाडीहरुको व्यवसायिक सुरक्षाको लागि पहल गर्ने पनि प्रतिवद्धतामा उल्लेख छ । धरान रंगशालाको प्याराफिट निर्माण पुरा गरी रात्रीकालिन खेलको लागि बत्तिको समेत व्यवस्था गर्ने पनि उल्लेख छ ।
यसैगरि, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वायत्त विश्वविद्यालय बनाएर गुणस्तरीय सेवाका साथै उत्कृष्ट स्वास्थ्य शिक्षा केन्द्र बनाउने, तत्कालै आइसियु सेवा तथा मर्चरीको क्षमता विस्तार गर्ने पनि प्रतिवद्धता एमालेको रहेको छ । विपी प्रतिष्ठानसँग सहकार्य र संयोजन गरेर धरान नगर अस्पताल सञ्चालनको पहल गर्ने, चतरा प्राथमिक स्वास्थ्य केन्द्र तथा ग्रामिण क्षेत्रका सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउने पनि एमालेले प्रतिवद्धता जनाएको छ ।
धरानको खानेपानी वितरण प्रणालीलाई सुदृढ बनाउदै अन्य शहरी क्षेत्र तथा ग्रामिण क्षेत्रमा सहज खानेपानी आपूर्तिको व्यवस्था मिलाउने, पुर्ण सरसफाई युक्त क्षेत्र निर्माण गर्ने पनि एमालेको प्रतिवद्धतामा उल्लेख छ । धरान वडा ६ मा निजी क्षेत्रबाट निर्माण सम्पन्न भएको फोहोरमैला प्रशोधन केन्द्र पुर्णसञ्चालनका लागि सबै तहका सरकार तथा सरोकारवालासँग संयोजन गरेर नितीगत तथा कार्यक्रमिक सहजीकरण गर्ने पनि उल्लेख छ ।
भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास क्षेत्रको समस्या समाधानको लागि भुमि आयोगबाट शुरु भएको कामलाई तीनै तहका सरकारसँग संयोजन र समन्वय गरेर जग्गा धनी दर्ता प्रमाणपुर्जा विरतणको कामलाई पहिलो प्राथमिकतामा अघि बढाउने पनि एमालेको प्रतिवद्धता रहेको छ ।
सेउती, सर्दु, सेहरा, पोखरा, अँधेरी, कोकाह, पटनाली, बाघखोला, हैटाखोलाको कटान नियन्त्रण र तटबन्धनको लागि पहल गर्ने जनाएको एमालेले वडा ६ को औधोगिक क्षेत्र सञ्चालनमा ल्याउने पनि प्रतिवद्धता जनाएको छ । कृषि उत्पादन क्षेत्रमा आधुनिक कृषि प्रणाली र दिगो सिँचाई प्रणाली व्यवस्थापन गर्ने, स्थानीय तहहरुमा कृषि प्राविधिक अनिवार्य व्यवस्थाको लागिथ पहल गर्ने पनि प्रतिवद्धता एमालेको रहेको छ ।
यस्तै, आर्थिक क्षेत्र विकास (इकोनोमिक करिडोर) को अवधारणाअनुसार धरानका ४, ५, ६, ८, ११, १७, २० वडा सहित ४२ किलोमिटर सडक निर्माण गर्ने प्रतिबद्धता पनि गरेको छ । धरान सभागृह र नाटक घर निर्माण सम्पन्न गर्ने, धरान–लेउती सुरुङ मार्गको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण प्रक्रिया अघि बढाउने पनि एमालेको प्रतिवद्धता रहेको छ ।
प्रतिवद्धता पुरा गर्न दृढतापुर्वक लाग्नेछुँ: उम्मेद्वार लिम्बू

सुनसरी क्षेत्र नं १ मा एमाले उम्मेद्वार टिकाराम लिम्बूले पार्टीले सार्वजनिक गरेको निर्वाचन क्षेत्रको प्रतिवद्धताहरु पुरा गर्न आफु इमान्दारिता र दृढतापुर्वक लाग्ने बताए ।
प्रतिवद्धताहरु सार्वजनिक कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै उम्मेद्वार लिम्बूले भने, ‘आज सार्वजनिक गरिएका प्रतिवद्धताहरु प्रति प्रतिवद्ध भएर निःसंकोच भएर अघि बढ्नेछु ।’
उम्मेद्वार लिम्बूले भोलीको दिनमा नयाँ नयाँ मुद्दाहरु आउनसक्ने र त्यसलाई पनि सम्बोधन गर्न आफु दृढतापुर्वक लाग्ने प्रतिवद्धता जनाए । ‘स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्नुपर्ने बिषयमा दृढतापुर्वक लाग्ने नै छुँ,’ उनले भने ।
भिडियो :
भिडियो :







