एजेन्सी: ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भएकी थिइन्।

स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी आफ्नी ८४ वर्षिया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताइन्।ब्रिटेनमा करिब ४०० जनामा सङ्क्रमण भेटिएको छ भने ६ जनाको मृत्यु भएको छ।

इटलीमा मृत्यु हुने बढ्यो, चीनमा सङ्क्रमण घट्यो

कडा प्रतिबन्ध लगाइएको इटलीमा मृतकको सङ्ख्या ६३१ पुगेको छ। त्यहाँ एकै दिन १६८ जनाको मृत्यु भएको छ ।सङ्क्रमितहरूको सङ्ख्या करिब एक हजार थपिएर १० हजार १४९ पुगेको छ। चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु हुने देश इटली हो ।

चीनमा भने मङ्गलवार १९ जनामात्र नयाँ सङ्क्रमित भेटिएका छन्। जुन अहिलेसम्मकै कम सङ्ख्या हो। सबभन्दा पहिले कोरोना भाइरस भेटिएको चीनमा सङ्क्रमितहरूको कूल सङ्ख्या ८० हजार ७५४ छ भने ३ हजार १३६ जनाले ज्यान गुमाएका छन्।

अमेरिकाको न्यूयोर्कमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

अमेरिकामा न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले कोरोना भाइरसबाट निकै प्रभावित उत्तरी सहरको इलाकामा सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ। न्यू रोशलको १.६ किलोमिटर क्षेत्रलाई नियन्त्रित क्षेत्र घोषणा गरिएको हो।

न्यूयोर्कका गभर्नर कोउमोले न्यू रोशल अमेरिकाकै सम्भवतः धेरै सङ्क्रमितहरू भएको क्षेत्र रहेको बताए। न्यूयोर्क सहरको तुलनामा निकै कम जनसङ्ख्या रहे पनि त्यहाँ सङ्क्रमितहरूको सङ्ख्या धेरै नै बढी भेटिएको उनको भनाइ छ। त्यहाँ न्याश्नल गार्डका सदस्यहरू परिचालन गर्ने निर्णय भएको छ।उनीहरूले विद्यालयलगायत सार्वाजनिक स्थलहरूको सफाइ गर्ने छन्। क्वारन्टीनमा रहेका निजी घरहरूमा आवश्यक खाने कुरा पुर्‍याउने जिम्मेवारी पनि उनीहरूलाई दिइएको छ।