इटहरीः कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम न्यूनिकरण गर्न सरकारले मुलुक लकडाउन गरेसँगै घरमै रहेका सर्वसाधारण विभिन्न क्रियाकलाप गरेर समय कटाउन थालेका छन् ।

लकडाउनको लामो समयलाई सृजनशिल बनाउन नाचगान उपयुक्त विकल्प भएको छ भने परिवारलाई समय दिन नपाएकाहरु यस्तो समयलाई उचित सदुुपयोग गरिरहेका छन् । अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नपाएपछि घरका सदस्यहरु भेला भएर नाचगान गर्न थालेका हुन् । सबै उमेरसमुहका व्यक्तिहरु जम्मा भइ मानसिक एवंम शारिरीक स्फुर्ती हुने रचनात्मक क्रियाकलापमा व्यस्त हुन थालेका हुन् ।

इटहरी उपमहानगरपालका ४ का नवराज सुुवेदीले राज्य र अन्य नागरिकलाई सहयोग गर्न घरमै बसिरहेको समयलाई थप रचनात्मक बनाउन दैनिक नाचगान गर्ने गरेको बताए । ‘पर्याप्त समयको सदुुपयोग गर्ने र राज्य एवंम नागरिकलाई सहयोग गर्ने यो उचित मौका हो । यसलाई खेर जान नदिने अनेक क्रियाकलाप गरि दिन कटाइरहेका छौँ,’उनले भने ।

इटहरीकै राजेन्द्र खतिवडाले घरबाहिर निस्कन नपाएको दुःख भएपनि घरका सबै परिवार लामो समयसम्म सँगै रहन पाउँदा हर्षित भएको र सो समयलाई रमाइलो गरेर व्यतित गरेको जानकारी दिए । ‘अत्यावश्यक किनमेलका लागिबाहेक बाँकि समय घरमै विभिन्न क्रियाकलापमा सहभागी भएर बिताउने गरेका छौँ,’खतिवडाले भने,‘छोराछोरीको विद्यालय बिदा छ, आफ्नो अफिस । विहान बेलुका कौसीको फूलवारी र तरकारी बारीमा समेत समय बिताउने गरेको छु ।’

lock-down-dance

सुनसरीको धरान, इटहरी, इनरुवा, दुहवी क्षेत्रमा अत्यावश्यकबाहके अन्य सवारी साधन ठप्पै जस्तो छन् । चामल, ग्याँस लगाएतका सामाग्री खरिदका लागि मात्र नगन्य मात्रमा नागरिक सडमा निस्किएका छन् । त्यस्तै अस्पतालसम्म जानुुपर्ने गर्भवती महिला एवंम अन्य बिरामी सवारी नपाएपछि हिँडेरै अस्पतालसम्म गएको देखिएको छ ।

इटहरीका विभिन्न संस्थाले क्वारेन्टाइन निर्माणका लागि इटहरी सरकारलाई सहयोग जुट्ने क्रम जारी छ । जनता बहुुमुखी क्याम्पसलाई २ सय वेडको क्वारेन्टाइन बनाउने स्थानीय सरकारको योजनालाई स्थानीय निजी मेडिकल एवंम अस्पतालहरुले सहयोग गरेका छन् । जसमा मेदान्त हस्पिटल, एपेक्स हस्पिटल, सामुदायिक हस्पिटल र पशुपती हस्पिटलबाट वेड प्रदान भएको र ५० वेडको क्वारेन्टाइन निर्माण हुने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले जानकारी दिएकी छिन् ।