धरान: धरानमा लकडाउनमा समस्यामा परेका विपन्न परिवारलाई एक द्धार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि वडा अध्यक्षहरुले दोहोरो नपर्ने गरी आफैले राहत वितरण गर्न पाउने भएका छन् ।

आज दिउँसो बसेको कार्यपालिका बैठकमा वडाअध्यक्षहरुले एक द्धार प्रणालीबाट गरिनु राम्रो भएपनि राहत विरणमा ढिलाई भइरहेको भन्दै वडालाई विरतणमा रोक नलगाउन माग गरेका थिए । वडाअध्यक्षहरुले विपन्न नागरिकहरुलाई तत्काल राहत आवश्यक भएकोले वडाहरुले विरतण गर्ने अडान लिएपछि कार्यपालिका बैठकले पनि मन्त्रालयले पठाएको मार्गनिर्देशन वमोजिम दोहोरो नपर्ने गरि वितरण गर्न पाउने निर्णय गरेको हो ।

नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले वडाले आफ्ना विपन्न नागरिकहरु प्रमाणित गरेर दोहोरो नपर्ने गरि वितरण गर्ने निर्णय भएको बताए । सरकारले पठाएको कार्यविधिमा टेकेर वडाहरुले वितरण गर्न छुट दिइएको उनले बताए । ‘एकद्धार प्रणाली नै हो, राहत वितरणमा ढिलाई भइसकेकोले छिटो छरितो वितरण गर्नुपर्ने भएकोले वडाले आफैले जिम्मा लिने गरी वितरण गर्ने निर्णय भयो,’उनले भने । वडाअध्यक्षहरुले उपमहानगरबाट वितरण गर्नुपर्ने राहत ढिलाई भएको भन्दै असन्तुष्टी पनि प्रकट गरेका छन् ।

उपमहानगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । आज बिहान राहत समितिको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो । कोषमा नगरपालिकाको आकस्मिक कोषबाट २५ लाख राख्ने निर्णय गरेको सुचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार दाताहरुले दिएको रकम पनि यो कोषमा राखिनेछ भने राहतमा भएको खर्च पनि यहीबाट गरिनेछ । बैठकले मन्त्रालयले पठाएको राहत वितरणको नमुना मार्गदर्शन वमोजिम राहत वितरण गर्ने निर्णय भएको छ । यो मार्गदर्शनको २५ नम्बर बुँदाअनुसार कसैलाई पनि दोहोरो नपर्ने गरी आवश्यकता र औचित्य पुष्टी हुने गरी वडा कार्यालयले राहत वितरण गर्ने निर्णय बैठकले गरेको छ । साथै, वडाहरुबाट प्राप्त भएको राहत पाउनुपर्नेहरुको नामावलीलाई उपमहानगरले अन्तिमरुप दिएपछि सोही नामावलीको आधारमा मात्र राहत वितरण गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।