सुनसरी: सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना भाइरस(कोभिड १९)को रोकथाम, नियन्त्रण तथा उपचारमा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत जोखिम भत्ता दिने भएको छ ।

उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आज यस्तो निर्णय गरेका हुन् । मेयर चौधरीले कोरोना आशंका गरिएका व्यक्तिहरुको उपचारमा क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत जोखिम भत्ता दिने निर्णय गरेका हुन् । ती स्वास्थ्यकर्मीहरुले खाइपाइ आएको तलब बराबर नै जोखिम भत्ता दिने मेयर चौधरीले निर्णय गरेको उमहानगरका प्रेस संयोजक लिलाराज भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार मेयर चौधरीले तीन तहको जोखिम भत्ता दिने निर्णय गरेका छन् । दोस्रो तहको निर्णयअनुसार उपमहानगरपालिका मतहतको अस्पताल एवं स्वास्थ्य संस्थाहरुमा खटिने स्वास्थ्यकर्मीहरुलाई ७५ प्रतिशत जोखिम भत्ता दिने निर्णय मेयर चौधरीले गरेका छन् भने प्रशासनका कर्मचारीहरुको लागि ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय भएको छ । ‘यो मेयरको र इटहरी उपमहानगरपालिकाकै पनि निर्णय हो,’प्रेस संयोजक भट्टराईले भने ।