धरान: पछिल्लो समय विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गरेको धरान उपमहानगरपालिकाले सबैको कोरोना संक्रमणको अवस्था पत्ता लगाउन र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) अर्थात द्रुत परिक्षण शुरु गरेको छ ।

हिजो सोमबार धरान १३ फुस्रेस्थित क्वारेन्टाइनमा भएका व्यक्तिहरुको र्यापिट टेष्ट गरिएको थियो भने आज धरानको वाड नं १७ मा परीक्षण गरिएको थियो । वडा १७ मा मंगलबार एक अमेरिकी नागरिकसहित २१ जनाको परीक्षण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुमध्ये १२ जना महिला र ९ जना पुरुष छन् । ‘धरानमा विदेशबाट आएकाहरुको जति तथ्यांक आएको छ, ती सबैको र्यापिड टेष्ट गछौं,’मेहताले भने,‘आज वडा १७ मा २१ जनाको टेष्ट गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको छ ।’

rapid-test-dhrn

विदेशबाट आएकाहरुको तथ्यांक लिएर सबैलाई घरमा क्वारेन्टाइनमा बस्न भनिएको थियो । र्यापिड टेष्टको रिपोर्ट नेगेटिभ आए पनि सबैलाई अझै पनि घरमा सेल्फ क्वारेन्टाइनमा रहन सुझाव दिइएको मेहताले बताए । ‘सबैलाई घरभित्रै बस्न र केही लक्षण देखियो भने तुरुन्त खबर गर्न भनेका छौं,’उनले भने । बुधबार धरानको वडा नं ११ र १६ मा र्यापिड टेष्ट हुनेछ ।