विराटनगर: प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ ।

ती मध्ये पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको हो । विहीबारसम्म ३ हजार ९ सय २९ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) विधिबाट नमुना परीक्षण गरिएको हो । हालसम्म प्रदेश १ मा मात्र २८ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु सबै उदयपुरको भुल्केमा भेटिएका हुन् । संक्रमितहरुमा २६ जना पुरुष र २ जना महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको ।

संक्रमितमध्ये १६ जना नेपाली नागरिक छन् भने १२ जना भारतीय नागरिक रहेका छन् । संक्रमित दुई महिला पनि नेपाली हुन् । नेपाली नागरिकहरुमध्ये ४ जना मोरङका हुन् । अन्य ११ जना उदयपुर त्रियुगा ३ भुल्केका छन् । एक जना सप्तरीका हुन् । उनीहरु सबै त्रियुगाको भुल्केमा संक्रमित भएका हुन् । हाल उनीहरुको प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या विहीबारसम्म कुल १ हजार ९२ जना पुगेको छ भने २४ जना पुरुष डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा ४ हजार ९ सय १० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ७ सय ९४ र पुरुष ४ हजार १ सय १६ जना रहेका छन् ।