धरानः प्रदेश एकको विराटनगर पछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय वेडको कोरोना अस्पताल तयार भएको छ ।

छुट्टै भवनमा अप्रेसन थिएटरसहितको सुविधा भएको अस्पताल शुक्रवार निर्माणकर्ताले प्रतिष्ठानलाई जिम्मा दिने उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए । यसअघि विराटनगरमा प्रदेश सरकारले बेग्लै कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । नेशनल ट्रेनिङको भवनलाई बनाइएको अस्पतालमा उदयपुरबाट कोरोना संक्रमित भएर आएका व्यक्तिको उपचार जारी छ ।

कोरोना संक्रमणको बढ्दो प्रकोपलाई ध्यान दिदै विपी प्रष्ठिानले एक साताभित्र अस्पताल तयार गर्ने गरी निर्माण कार्य थालेको थियो । ‘पछिल्लो आवश्यकतालाई बुुझेर सरकारको निर्देशन बमोजिम हामीले द्रुत गतिमा आइसोलेटेड अस्पताल बनाएका हौँ,’उपकुलपति डा. गिरीले भने,‘यसपछिको कस्तो आवश्यता हुन्छ, सो अनुसार ५ सय बेडसम्मको अस्पताल बनाउने आन्तरिक गृहकार्य भइरहेको छ ।’

bp-vc

उपकुलपति डा.गिरीका अनुसार प्रतिष्ठानको कुन ठाउँमा थप ५ सय वेडको भवन बनाउने भन्ने बारे व्यवस्थापनले ठाउँ टुँगो लगाइसकेको छ । स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार अलग्गै भवनमा उक्त संरचना बन्ने छ, र कोरोना प्रभावित विरामीका लागि विशेष सुविधा जडित हुनेछ । प्रतिष्ठानले छुट्टै कोरोना हेल्प डेक्स स्थापना गरेर सम्भावित संक्रमितको जाँच गर्ने गरेको छ । शंकास्पद विरामीको स्वाब परीक्षण वीपीमा नै हुने गरेको छ भने लक्षण भएका व्यक्तिहरुको आइसोलेसन वार्डमा चिकित्सकको निगरानीमा उपचार गरिन्छ ।

प्रतिष्ठानले पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने गरेको छ । अस्पताल प्रशासनका अनुसार केही दिन भित्र दैनिक सय भन्दा बढि परिक्षण गर्नसक्ने गरि ल्याबको क्षमता बढाउने भएको छ । प्रदेश एकमा बढ्दो कोरोना संक्रमणको दरलाई मध्यनजर गरेर विपी प्रतिष्ठानको अस्पताललाई नै आइसोलेटेड अस्पताल बनाउनेसम्मको प्रशासनले तयारी थालेको छ । जसका लागि अत्याश्वयक सेवाबाहेकका सबै सेवा बन्द गर्ने सम्मको तयारी छ ।