धरान: कोरोना संक्रमित भेटिएको भोजपुरको हतुवागढी गाउँपालिकामा एउटा वडाबाट अर्कोमा मानिसहरु आउजाउ गर्न रोक लगाउने निर्णय भएको छ ।

आज गाउँपालिकामा बसेको कोरोना र्यापिड रेस्पोन्स टिमको बैठकले संक्रमण फैलिन नदिन एउटा वडाबाट अर्कोमा जान नपाउने निर्णय गरेको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष कुमार विष्टले दिएको जानकारी अनुसार संक्रमितको वडा नं ६ मा र उक्त वडासँग सिमाना जोडिएको वडा ५ र १ मा अझ कडाई गर्ने निर्णय भएको छ । ‘आरआरटि बैठकबाट एउटा वडाबाट अर्कोमा जान नदिने निर्णय भएको छ । अझ संक्रमितको वडा ६ मा र योसँगै जोडिएको ५, १ वडाबाट कतै बाहिर जान नदिने, जानै परे समन्वय गरेर मात्र जान पाउने निर्णय भएको छ,’उनले भने ।

अध्यक्ष विष्टका अनुसार संक्रमित व्यक्तिको परिवार र उनको अत्यन्त घनिष्ट साथीहरु ४५ जनाको लिष्ट तयार भएको छ । उनीहरुको पिसिआर परीक्षण गर्ने पनि निर्णय भएको छ । साथै, उनी कहाँ कहाँ गएका थिए भनेर पत्ता लगाउन प्रहरी इञ्चार्जलाई जिम्मा दिइएको उनले बताए । ‘पिसिआरको लागि सामग्री २० वटा मात्र भएकोले आज २० जनाको स्वाब लिन जिल्ला जनस्वास्थ्यको टोली आउदैछ,’प्रवक्ता विष्टले भने,‘संक्रमितलाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारीमा छौं ।’

प्रवक्ता विष्टका अनुसार संक्रमितको आमा, भाईलगायत परिवार र उनीसँगै हिड्ने साथीभाईको पिसिआर जाँच गरिनेछ । आज नै उनको ससुरालीमा पनि श्रीमति, सासु, ससुराको पनि पिसिआर जाँचको लागि स्वाब लिइनेछ । साउदी अरबबाट फागुन ३० गते काठमाण्डौं आइपुगेका ती युवा सोही दिन साँझ नाइट बस चढेर सुनसरीको झुम्का आएका थिए । त्यहाँबाट उनी चतरामा रहेकी श्रीमति भेटेर धरान, इटहरीलगायत सहरहरु ८ दिनसम्म घुमेको खुलेको छ । सुनसरीमा पनि उनको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।