धरान: भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित युवा सुनसरीमा घुमेको ठाउँ तथा उनले भेटेका व्यक्तिहरुको पहिचान गरेर परीक्षण गरिने भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्लिक धरानसँग कुरा गर्दै सोही बिषयमा आज दिउँसो एक बजे क्राइसिस मेनेजमेन्ट कमिटिको बैठक बसेर आवश्यक छलफल एवं निर्णय गरिने पनि बताए । ती युवा सुनसरी पनि आएको जानकारी आएपछि प्रहरीलाई कन्ट्याक्ट ट्रेसिङ गर्न निर्देशन दिइसकेको पनि प्रजिअ पौडेलले बताए । ‘यही बिषयमा पनि आज बैठक बस्दैछौं । स्थानीयस्तरमा जो जो मान्छेसँग सम्पर्कमा पुगेका छन्, तिनीहरुको कन्ट्याक्ट ट्रेसिङ गछौं । यसबारे हिजो नै प्रहरीलाई भनिसकेका छौं,’सुनसरीका प्रजिअ पौडेलले भने ।

प्रजिअ पौडेलका अनुसार ती व्यक्ति कहाँ कहाँ पुगे, को को व्यक्तिलाई भेटे भनेर प्रहरीले अनुसन्धान गर्नेछ । उसको कारणले संक्रमणको जोखिम भएका मानिसहरुको पहिचान गरेर स्वास्थ्य संस्थासम्म पुर्याउने र परीक्षण गर्ने प्रजिअ पौडेलले बताए । ‘उसको कारण संक्रमणको जोखिम भएका मान्छेहरु पहिचान गरेर स्वास्थ्य संस्थासम्म पुर्याउछौं,’उनले भने ।

ती युवा लकडाउन अघि फागुन ३० गते साउदीबाट काठमाण्डौं अवतरण गरेका थिए । सोही दिन नाइट बस चढेर झुम्का आएका उनी चतरामा श्रीमतिलाई भेटेर धरान, इटहरीलगायत ठाउँ पनि पुगेका थिए । उनी ८ दिनसम्म सुनसरीमा रहेर चैत ९ गते मात्र उदयपुरको मैनामैनीस्थित ससुराली गएका थिए । त्यसपछि उनी भोजपुर पुगेका थिए । ती युवाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआरबाट स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसअघि भोजपुरमा गरिएको आरडिटि परीक्षणमा पोजेटिभ रिपोर्ट आएपनि स्वाब परीक्षणको लागि धरान ल्याइएको थियो । संक्रमित ति युवा धरान, इटहरीलगायत सहर घुमेको खुलेपछि जिल्ला प्रशासनले बिहान ६ देखि ९ बजेसम्म खोल्न दिने भनिएको खाद्यान्न पसलहरु बन्द गर्न निर्देशन दिइसकेको छ ।