काठमाडौँ: कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपालमा लकडाउनको समय थप्न सरकारलाई सिफारिश गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव दिएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएकोले सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लकडाउन जस्तो छ, त्यही रुपमा थपिने बताए । उनले के कति दिन थप्ने भनेर बुधबार बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने पनि बताए । ‘लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौं भन्ने निष्कर्ष बैठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ,’उनले भने ।