धरान: धरानको खानेपानी परियोजना सफल भएको पुष्टि नभै खानेपानी संस्थानको धरान शाखालाई बोर्डमा गाभ्न नहुने माग गर्दै संस्थानको कार्यालय र महशुल संकलन कार्यालयमा विरोध ब्यानर राखिएको छ ।
सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिले आज धरान १३ र धरान १६ स्थित महशुल कार्यालयमा विरोध ब्यानर राखेको हो । असार १० गतेको सातौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा साउन १ गतेदेखि संस्थान र आयोजनालाई बोर्डमा गाँभेर बोर्डले नै पानी व्यवस्थापन गर्ने प्रस्ताव गरिएको छ । त्यसलगत्तै संघर्ष समितिले खानेपानी आयोजना सफल भएको पुष्टि नभएसम्म संस्थानलाई बोर्डमा गाभ्न नहुने भन्दै विरोध जनाएको थियो । साथै, विभिन्न २९ वटा राजनीति दल, संघसंस्थाहरुले पनि संयुक्तरुपमा ज्ञापन पत्र उपमहानगरपालिकालाई बुझाएको थियो ।
संघर्ष समितिका संयोजक सुजेन्द्र गोले तामाङले अहिलेसम्म खानेपानी आयोजना सफल भएको अवस्था नदेखिएकोले बोर्डमा गाभ्न नहुने बताए । ‘आयोजना सफल भएको प्रमाणित भएपछि मात्र बोर्डमा गाभ्नुपर्छ नत्र यो सरकारी संरचना मास्नु हुदैन,’उनले भने,‘लक्ष्य अनुसार पानी उत्पादन र वितरण गर्न सकेको छैन । अब २, ३ महिना जति मात्र परीक्षण काल रहेको छ । संस्थान मासेर भोली बोर्डले पानी खुवाउन सकेन भने भयावह अवस्था हुन्छ, त्यो अवस्था व्यवस्थापन गर्नको लागि पनि संस्थानलाई जिवितै राख्नुपर्छ ।’

धरानका मेयर तिलक राईले पनि आयोजनाको बारेमा विस्तृत अध्ययन गर्न एक विज्ञ समिति गठन गरेका छन् । संघर्ष समितिका संयोजक तामाङ डिपिआरमा भने वमोजिम पानी उत्पादन गरेर खुवाउनु पर्ने आफुहरुको अडान रहेको बताए । ‘विज्ञ टोली गठन भएको कुरा छ, त्यो टोलीले पनि डिपिआर वमोजिम पानी उत्पादन भएको पुष्टि हुने आधार दिनुपर्छ । सैद्धान्तिक मात्र होइन, व्यवहारिक पनि हुनुपर्छ,’उनले भने ।
संघर्ष समितिकै एक घटक रहेको हर्क साम्पाङ नेतृत्वको दीर्घकालिन खानेपानी संघर्ष समितिले असार ३१ गतेदेखि नगरपालिकामा घेराउ गर्ने घोषणा गरिसकेको छ । यो समितिले पनि खानेपानी आयोजनामा भएको भ्रष्टचारको छानबिन गर्नुपर्ने, पानी पर्याप्त नगरबासीलाई वितरण गर्नुपर्ने माग गर्दै आएको छ ।
                    
		
                                        
                                                                                                
                    
                    
                    
                    
                    
                    
		


		
		
		
		



