धरान: तीसको दशकमा धरान धनकुटा कोशी राजमार्ग सडक बनेर सञ्चालनमा आउनुअघि धरानको फुस्रे बजार पुर्वाञ्चलको प्रमुख व्यापारिक केन्द्र थियो ।
हाम्रा बा, बाजेहरुबाट फुस्रे बजारमा नुनको भारी बोक्न आएको थुप्रै कथाहरु सुनेकै हो । फुस्रे बजारमा सामान किनबेच गर्न साँगुरीगढी हुँदै पहाडी क्षेत्रका मानिसहरु ओहोरदोहोर गर्थे । फुस्रे बजार पहाड र तराई क्षेत्रको महत्वपुर्ण बजार थियो । तर, जब धरान धनकुटे सडक बन्यो, तब यातायात सुगमताले मानिसहरु फुस्रे बजार आउ छोडे । विस्तारै यो ऐतिहासिक र महत्वपुर्ण बजार ओझेलमा पर्यो । पुर्वकै प्रमुख व्यापारिक केन्द्र अहिले धरान १३ नम्बर वडाको एउटा चोकमा सिमित भएको छ ।

फुस्रे बजारको विगतको त्यो गौरवपुर्ण इतिहासलाई जिवित गर्न अहिले १३ नम्बर वडा कार्यालयले एउटा महत्वपुर्ण कार्य गरिरहेको छ । धरान उपमहानगरपालिकाबाट विनियोजन भएको १५ लाख बजेटले फुस्रे बजारको इतिहास झल्काउने गरि मुर्तिहरु तयार गरिरहेको छ । मुर्तिलाई युवा कलाकार धिरज राईले बनाइरहेका छन् । मुर्ति तयार भइसके पछि फुस्रे चोकमा रहेको ज्येष्ठ नागरिक विश्रामलयमा राखिने वडाअध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । ‘३०, ४० बर्षअघि हृर्दा १६ जिल्लाको व्यापकिर केन्द्र फुस्रे बजार भएको इतिहास भेटियो, तर जिरो पोइन्टबाट धनकुटा जाने सडक बनेपछि छाँयामा पर्यो,’अध्यक्ष काफ्लेले भने,‘यो ऐतिहासिक बजारलाई कसरी चहलपहल बनाउने, भोलीका सन्ततीले यो बजारको इतिहास कसरी थाह पाउने भनेर यी मुर्तिहरु बनाउने काम भइरहेको हो ।’

भिडियो :

 अध्यक्ष काफ्लेका अनुसार फुस्रे बजारको इतिहासलाई जीवन्त राख्नको लागि विगतमा यो बजारसम्म मानिसहरु कसरी पहाडबाट ढाकर बोकेर आउथे भनेर मुर्तिहरुमा झल्काइनेछ । बजारमा बसोबास गर्ने रैथाने व्यक्ति, तराईबाट व्यापार गर्न आउने व्यापारीहरुको पनि मुर्ति बनाइनेछ । उपमहानगरपाकिलाले विनियोजन गरेको १५ लाख बजेटबाट यो काम भइरहेको पनि अध्यक्ष काफ्लेले बताए । फुस्रे चोकमा धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधारको पनि मोडल बनाएर राखिने अध्यक्ष काफ्लेको भनाई छ । उक्त मोडलमा जलाधार क्षेत्रमा कति डाँडा छन्, कति उचाईका छन् र कसरी पानी आइरहेको छ भनेर प्रस्तुत हुनेछ ।

अध्यक्ष काफ्लेका अनुसार फुस्रे बजार बसाउन रामजी साहु(राम साहु) को महत्वपुर्ण योगदान रहेको इतिहास छ । उनले नै पब्लिक मावि फुस्रे, खानेपानीको टंकीको लागि जग्गा निःशुल्क दिएका थिए । ‘यो बजार बसाउन पनि ठुलो देन देखिन्छ,’उनले भने । मुर्तिकार धिरज राईका अनुसार मुर्तिहरु फाइवरबाट बनिरहेको छ । जसको आयु घाम पानीमा पनि ५०, ६० बर्ष हुने उनले बताए । ‘फुस्रेको इतिहासलाई जस्ताको तस्तै झल्काउने प्रयास गरेका छौं । पहाडतिरबाट कसरी सामान बोकेर यहाँसम्म आउथे, र तराईबाट पनि व्यापार गर्न आउनेहरुलाई प्रस्तुत गरेका छौं,’उनले भने ।fusrey3 fusre5 fusrey6 fusrey4 fusrey7 fusrey9 fusrey8 fushre9 fusrey11 fusrey10 fusrey12