धरान: आइतबारदेखि निजी तथा संस्थागत विद्यालयहरुले स्कुल शुरु गर्ने घोषणा गरेपछि धरानका मेयर तिलक राईले निष्कर्षमा पुग्न भन्दै ४ दिनको समय मागेका थिए । उनले मागको समय आज सकिदैछ ।

समय घर्किन लागेपनि स्कुल कहिलेदेखि खुल्ने, कुन मोडालिटीमा खुल्ने र शुल्क कति लिने भन्ने निर्णय भने आइसकेको छैन । तर आज बिहानैदेखि मेयर राई र शिक्षा महाशाखा निष्कर्षमा पुग्न निरन्तर छलफलमा जुटेका छन् । आज बिहान निजी विद्यालय सञ्चालकहरुसँग उपमहानगरपालिकामा छलफल भएको थियो । उक्त छलफलमा भोलीदेखि स्कुल शुरु गर्ने समझदारी भए पनि शुल्कबारे निष्कर्षमा पुग्न बाँकी रहेको छ । आज दिउँसो मेयर र शिक्षा महशाखाले आन्दोलित अभिभावकहरुसँग यही बिषयमा छलफल गर्न लागेका छन् ।

एसिसि धरानका अध्यक्ष राजेन्द्र गुरुङका अनुसार आज बिहानको छलफलमा शुल्कबारे पनि कुरा उठेको थियो । तर, यो बिषयमा उपमहानगरले अझै छलफल गर्नुपर्ने भएकोले निष्कर्षमा नपुगिएको उनले बताए । तर, स्कुल लगाउने बिषयमा आज बेलुकासम्म शिक्षा महाशाखाबाट नोटिस जारी हुने र भोलीदेखि स्कुल सञ्चालन हुने उनले बताए ।

यता शिक्षा महाशाखा प्रमुख रत्न कटवालले भने बिहान संस्थागत विद्यालय सञ्चालकहरुसँग छलफल भएको र दिउँसो अभिभावकहरुसँग पनि छलफल गरेर निष्कर्षमा पुग्ने बताए । बेलुकासम्म स्कुल चलाउने र शुल्क निर्धारणबारे एकै पटक निर्णयमा पुग्ने उनको भनाई छ । ‘बुलुकासम्म शुल्क र स्कुल चलाउने बिषयमा एकै पटक निर्णयमा पुग्छौं, र सुचना निकाल्छौं,’उनले भने,‘अभिभावकहरुसँग पनि अब छलफल हुन्छ ।’