धरान: मंगलबार मध्याह्न धरानका सुकुम्बासीहरु ज्ञापन पत्र बुझाउन भनेर उपमहानगरपालिका पुग्दा मेयर तिलक राई बैठक हलमा थिए । बैठक चलिरहेको कारण मेयर राई तत्काल बाहिर निस्किएनन् ।

निक्कै बेरसम्म मेयर बाहिर नआएपछि ज्ञापन पत्र बुझाउन गएका सुकुम्बासीहरु आक्रोशित हुन थाले । सुकुम्बासीहरुको नेतृत्व गरेका थिए, नेकपा एमाले निकट नेपाल भुमिहिन सुकुम्बासी संगठनका १ नम्बर प्रदेश कमिटी अध्यक्ष नरेन्द्रप्रसाद राई । मेयरले समय नदिएको भन्दै उनी चर्को स्वरमा कराउन थाले । मेयरको घर हो ? भन्दै उनी कराउन थालेपछि अरु पनि उनीसँगै चर्को स्वर गर्न थाले ।

केही बेरपछि मेयर राई बैठक हलबाट बाहिर निस्किए । त्यसपछि मेयर सुकुम्बासी संगठनका नेता राईलाई कराउन थाले । सुकुम्बासी नेता र मेयर बीच केहीबेर चर्काचर्की नै पर्यो । आफु गम्भीर बिषयमा बैठकमा बसिसकेको कारण बाहिर निस्कन नमिलेको भन्दै मेयर राईले जनतालाई अनावश्यकरुपमा नभड्काउन भन्दै आक्रोश पनि पोखे । साथै, मेयर राईले राजनीतिक संगठनको ज्ञापन पत्र नबुझ्ने भन्दै ज्ञापन पत्र पनि लिएनन्, र जनताको कुरा बुझ्ने भन्दै सर्वसाधारणहरुसँग कुरा गर्न थाले ।

सुकुम्बासीहरु भुमि आयोगले लगत संकलन गर्न दिएको ३५ दिने म्याद किन गुज्रियो भन्ने प्रश्न लिएर मेयरलाई भेट्न पुगेका थिए । मेयर राईले कार्यविधि अनुसार सहजीकरण समिति गठन गर्न राजनीतिक दलको प्रतिनिधिहरु पठाउन ढिलाई गर्दा नगरमा र वडास्तरमा ढिलाई भएको बताए । आफुले काम अघि बढाउन चाहे पनि राजनीतिक दल र वडाअध्यक्षहरुले मेयरले एक्लै गर्यो भनेर कराउने भएको कारण ढिलाई भएको बताए । उनले सबै सुकुम्बसीहरुले फारम भर्न पाउने भन्दै कसैको पनि नछुट्ने बताए । धरानको २० वटा वडाहरुमध्ये ५ वटा वडाले मात्र प्रतिनिधि पठाएको उनको भनाई थियो । आयोगले दिएको समय गुज्रिए पनि कार्यपालिकाबाट निर्णय गरेर म्याद थप गर्न पत्राचार गरिएको मेयर राईले बताए ।