धरान: विभिन्न ८ बुँदे माग राखेर धरानका सांगीतिक ब्याण्डहरुले बगरकोटका लाउञ्ज एण्ड बारहरुमा स्ट्राइक गरेका छन् ।

धरान ब्याण्ड एशोसिएशनको अगुवाईमा हिजो आइतबारदेखि लाइभ कन्सर्ट स्ट्राइक गरेका हुन् । जसले गर्दा बगरकोटका व्यवसायीहरुले मार परेको गुनासो गरेका छन् । ब्याण्डहरुले भने माग पुरा नभएसम्म लाइभ पर्फम नगर्ने अडान लिएका छन् । एशोसिएशनले पुराना ब्याण्डलाई दैनिक प्रस्तुती गर्दा ६ हजार दिनुपर्ने, नयाँ ब्याण्डहरुलाई दैनिक ३५ सय दिनुपर्ने, एकल संगीतकर्मीलाई दैनिक १५ सय र संगीतकर्मीद्धयलाई २ हजार दिनुपर्ने माग गरेको छ ।

5

यसैगरि, ब्याण्डहरुलाई खाजा र खानाको व्यवस्था गर्नुपर्ने, कुनै बिशेस कार्यक्रमको मुल्यदर ब्याण्डको नियमित रकमको दोब्बर गर्नुपर्ने, ब्याण्डको तलब कुनै पनि परिस्थितिमा यथावत हुनुपर्ने, कारणवश कार्यक्रम फेरवदल गर्नुपरेमा दिउँसो १२ बजेसम्म खबर गर्नुपर्ने, त्यसो नगरेमा ब्याण्डले पाउने नियमित रकमको आधा रकम जरिवाना स्वरुप दिनुपर्ने, कार्यक्रम ७ बजे शुरु हुनुपर्ने र साढे ८ बजे १५ मिनेट विश्राम दिनुपर्ने, पुनः पौने ८ बजे शुरु गरेर साढे ९ बजेसम्म अन्त्य गर्नुपर्ने समय तोकिनुपर्नेलगायत मागहरु छन् ।

ब्याण्डका एक सदस्यले पछिल्लो समय पेमेन्ट थोरै गर्न थालेको र खाजा, खानालगायत पनि कटौती गरेपछि स्ट्राइक गर्नुपरेको बताए । धरानमा एक दर्जन जति ब्याण्डहरु रहेका छन् । लकडाउनअघि ४ हजार पाउदै आएका ब्याण्डहरुले अहिले ३ हजारमा सिमित भएको गुनासो गरेका छन् ।

माग पुरा गर्न सकिदैन: व्यवसायी 

बगरकोटका व्यवसायीहरुले भने ब्याण्डहरुको माग पुरा गर्न नसकिने बताएको छ । बगरकोट व्यवसायी मञ्चको आज(सोमबार) दिउँसो बैठक बसेको थियो । उक्त बैठकले ब्याण्डहरुको माग पुरा गर्न नसक्ने निर्णय गरेको मञ्चका अध्यक्ष जीवन मेन्याङ्बोले जानकारी दिए । 

6

बैठकले सांगीतिक कार्यक्रम सञ्चालनको समयावधि बेलुकी ६ बजेदेखि साढे ९ बजेसम्म हुने र खाजा, पानीको व्यवस्था ६ बजेअघि नै गरिसक्ने निर्णय गरेको छ । सांगीतिक कार्यक्रम होटल सञ्चालक र ब्याण्डको आन्तारिक छलफलबाट गराउने, कार्यक्रम सञ्चालन अवधिभर धुम्रपान र मद्यपान प्रयोग गर्न नपाउने, कार्यक्रम पश्चात गर्नुपर्ने सशुल्क गर्न पाउने निर्णय गरेको छ । यस्तै, ब्याण्ड एशोसिएनसँग सहमति नभएसम्म सोमबार साँझदेखि एकल संगीतकर्मी र डिजे सेसन मात्र गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष मेन्याङ्बोले जानकारी दिए ।

अध्यक्ष मेन्याङ्बोले कोरोनाको कारणले व्यवसायीहरुको करोडौं लगानी डुब्ने अवस्थामा पुगेको र सेवा, सुविधा बढाउने अवस्था नभएको बताए । ब्याण्डहरुले पर्फम गर्न नआउने भएपछि लाउञ्ज एण्ड बार सञ्चालकहरुले आफ्नै पहलमा संगीतकर्मी ल्याउदा पनि फोन गरेर आउन नदिएको बताए । ‘धरानका ब्याण्डहरु आफै पनि पर्फम नगर्ने र अरुलाई पनि फोन गरेर नआउनु भनिरहेको छ,’उनले भने ।