धरान: धरान उपमहानगरपालिकाले हिजो शनिबार सम्पन्न भएको २१ औं गोधुली रनिङ कपको उत्कृष्ट टोलीलाई सहभागी गराएर लिग चरणको प्रतियोगिता आयोजना गराउने भएको छ ।

मेयर तिलक राईले गोधुलीको ८ वा ४ वटा टिमलाई सहभागी गराएर लिग चरणको स्पर्धा गराउनेबारे सोचिरहेको बताए । गोधुली कपको समापन समारोहलाई सम्बोधन गर्दै मेयर राईले भने,‘यो प्रतियोगितालाई निरन्तरता दिनको लागि लिग चरणमा खेलाउने गरि सोचिरहेका छौं, साथीहरुसँग सल्लाह भइरहेको छ ।’ मेयर राईका अनुसार क्वार्टरफाइनल पुगेको ८ वटा वा सेमीफाइनल पुगेको ४ वटा टिमहरुलाई लिग चरणको खेल गराउनेबारे चाडै निर्णय गरिनेछ ।

मेयर राईले ती वडाका टिमहरुलाई तयारी अवस्थामा रहनको लागि पनि आग्रह गरेका छन् । उनले गोधुली कपमा सहभागी भएका टिमहरुको खेलाडी छनौट गरेर चाडै धरानको टिम पनि तयार गर्ने बताए । ती टिमहरुलाई विभिन्न नगरले आमन्त्रण गरेको प्रतियोगितामा सहभागी गराउन पठाउने उनको भनाई थियो । ‘धरानलाई विभिन्न नगरले आमन्त्रण गरेको छ, त्यसमा सहभागी हुनको लागि टिम बनाउछौं । गोधुलीमा सहभागी टिमबाट नै खेलाडी छनौट हुन्छ,’मेयर राईले भने ।

मेयर राईको घोषणाबाट आयोजक गोधुली क्लब तथा फुटबल प्रेमीहरु उत्साहित भएका छन् । क्लबका उपाध्यक्ष सतिस केसीले नगरपालिकाले लिग खेल आयोजना गर्नु ज्यादै खुशीको कुरा भएको बताए । यसले धरानको खेलाडीहरुलाई फाइदा पुग्ने र प्रतिस्पर्धा बढेर खेलाडीहरु झनै निखारिने उनले बताए । 'यो त एकदमै राम्रो हो । धरानको खलाडीहरुलाई फाइदा पुग्छ । यसले अर्को बर्ष झन् प्रतिस्पर्धा हुन्छ,'केसीले भने,'टिमहरुलाई सुपर ८ मा छिर्नुपर्छ भन्ने हुन्छ, र खेल पनि रोमाञ्चक बनाउछ ।'