धरान: गोधुली रनिङ कपको हिजो शनिबार सम्पन्न भएको फाइनल खेल हेर्न रंगशालामा दर्शकहरु खचाखच पुगे । वडास्तरीय प्रतियोगिताको फाइनल खेल हेर्न खेलप्रेमी दर्शकहरुको घुँइचो देखेर आयोजक र अतिथिहरु दंग थिए ।

दंग नहुन् पनि किन ? वडा नं १४ र १६ को खेल हेर्न नेपालकै चर्चित बुढासुब्बा गोल्डकपको फाइनल खेलमा जस्तै थिए दर्शक । आयोजक गोधुली क्लबले टिकट काटेर फाइनल खेल हेर्न आएका दर्शकहरुबाट अहिलेसम्मकै धेरै रकम संकलन पनि गरेको छ । क्लबका उपाध्यक्ष सतिस केसीका अनुसार हिजो शनिबार फाइनल खेलमा टिकटबाट मात्र २ लाख १० हजार हाराहारी संकलन भएको छ । ‘२ लाख १० हजार हाराहारी उठ्यो, यो अहिलेसम्मकै धेरै हो,’उनले भने,‘गत बर्षको भन्दा दोब्बर पनि हो ।’

godhuli-trophy

गत बर्ष आयोजकले फाइनल खेलमा टिकटबाट १ लाख हाराहारीमा संकलन गरेको थियो । गत बर्ष फाइनल खेलको टिकट दर ५० थियो भने यसपाली टिकट दर ८० रुपैया राखिएको उपाध्यक्ष केसीले बताए । यसपाली फाइनलमा नयाँ टिमहरु पुगेको कारणले पनि दर्शकहरु खेल हेर्न आएको उनको भनाई छ । ‘नयाँ वार्डहरु फाइनल पुगेर चासो भयो । त्यसैले कस्तो टिम पुग्यो भनेर पनि दर्शकहरु हेर्न आए,’उनले भने,‘धरानै फाइनल हेर्न आयो ।’