धरान: गएको सोमबारदेखि प्रहरीको खोजी सुचीमा रहेका हर्क साम्पाङले केही दिनमा आफै प्रहरीसमक्ष गिरफ्तारी दिने बताएका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, 'म केही दिनमा आफै गिरफ्तारी दिनेछुँ ।' उनले आफु जनताको नेता भएको दाबी गर्दै भागेर जान नसक्ने पनि बताएका छन् । 'तर केही काम बाँकी छन्, जुन सल्टाएर म प्रहरी सामु आउनेछुँ,विज्ञप्तीमा उनले भनेका छन् । 

वन कार्यालयले वन ऐन विपरीत सर्दु र सेउती दोहनलाई रोक्दा रोक्दै पनि नगर प्रहरी, प्रहरी र गुन्डा प्रयोग गररेर मापदण्ड विपरीत उत्खनन् भएको उनले दाबी गरेका छन् । जनतालाई लक डाउन भन्दै घर भित्र थुनेर अवैधरुपमा भारतीय प्लेट सहितको सयौ ट्रिपर प्रयोग गरी धरानको भौगोलिक बनोट बिग्रने र छेऊको चुरे पहाड समेत तान्ने किसिमले सर्दु र सेउती भत्काउदै बेच्न चाहेकोले आफुहरुले विरोध गरेको साम्पाङको दाबी छ ।

उनले प्रहरीले अभद्र बोली व्यवहार गरेकोले एक दुई वचन भनाभन भएको दाबी गर्दै त्यसैलाई मुद्दा बनाएर आफ्नो घरमा प्रहरी पठाएको भन्दै निन्दा पनि गरेका छन् । गएको सोमबार धरान ११ मंगलबारे चोकमा मोटरसाइकलको चाबी तानातान हुँदा महिला प्रहरीको हात सुन्निने गरि घटना भएको थियो । सोही घटना पछि साम्पाङ भुमिगत छन् ।

सर्दु खोलामा कुटाकुट भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले दोषीमाथि कारबाहीको माग पनि गरेका छन् । मिडियाहरुमा एकतर्फी कुरा मात्र सम्प्रेषण भएर आफुलाई वद्नाम गराउन खोजिएको भन्दै उनले दुःख पनि व्यक्त गरेका छन् ।  'प्रेस जगतले पनि एक तर्फी भर्सन सम्प्रेषण गरेर मलाई बदनाम गर्नु दुःखद छ, त्यो दिन मेरा केही साथीहरु स्वस्फुर्त गएका थिएँ, मेरो नेतृत्व भनिएको छ । म स्वयम उपस्थित नभएको त्यस घट्ना कसरी मेरो नेतृत्वमा भयो ? यस्लाई अतिरंजित नबनाउनु होला,'विज्ञप्तीमा भनिएको छ । 

567