धरान: नेशनल एकेडेमी धरानले कक्षा ११ मा ग्रामीण भेगका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।

शैक्षिक संस्थाहरु मध्ये प्रदेश नं. १ मा पहिलो आईएसओ प्रमाणपत्र लिन सफल नेशनल एकेडेमीले २१ जना ग्रामीण भेगका विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको हो । एकेडेमीका प्राचार्य श्रीशीशा राईका अनुसार एकेडेमीमा पठनपाठन हुने म्यानेजमेन्ट, एजुकेशन र ह्युमेनिटिजमा छात्रवृत्ति दिइनेछ । प्रत्येक सङ्कायका लागि ७ जनाको दरले छात्रवृत्ति दिइने प्राचार्य राईले जानकारी दिएका छन् । 

उक्त छात्रवृत्ति सुनसरी, मोरङ, झापा लगायतका तराई बाहेकका ११ वटा जिल्लाका विद्यार्थीहरुलाई लागु हुने एकेडेमीले जनाएको छ । कक्षा ११ अध्ययन गर्ने चाहने विद्यार्थीको एसईईको प्राप्ताङ्क र अन्तरवार्ताका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनौट गरिनेछ । प्रवेश परिक्षाको प्राप्ताङ्कलाई समेत छनौटको आधार बनाईने एकेडेमीका प्राचार्य राईले जानकारी दिए । छनौट भई नेशनल एकेडेमी अध्ययन गर्ने विद्यार्थीहरुका लागि एकेडेमी परिसरमै सुविधासम्पन्न होस्टलको व्यवस्था समेत गरिएको प्राचार्य राईले एक प्रेस नोट जारी गर्दै जानकारी दिएका छन् ।

एकेडेमीले एसईईमा अब्बल ग्रेड प्राप्त गर्ने विद्यार्थीहरु, दलित, आदिवासी जनजाति, सिमान्तकृत, अव्यवस्थित बसोबास, नृत्य संगीत गायन मोडलिङ साहित्य खेलकुदमा अब्बल विद्यार्थीहरुका लागि समेत छुट्टाछुट्टै छात्रवृत्तिको व्यवस्था गरिएको जनाएको छ । एसईईमा ब्ं र ब् प्राप्त गर्ने विद्यार्थीहरुका लागि विशेष छात्रवृत्तिको व्यवस्था प्राचार्य राईले बताए ।

दुर्गम क्षेत्रका शिक्षा, यातायात आदिबाट बञ्चित साथै आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीले समेत अन्तरराष्ट्रिय स्तरको शिक्षा लिने अवसर प्राप्त गरुन् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको एकेडेमीका सिइओ देवकुमार सुब्बाले बताए । नेशनल एकेडेमीले शिक्षालाई व्यवसाय भन्दा पनि विद्यार्थीको अधिकारको रुपमा प्रसार गर्न चाहेको उनको भनाई छ ।

नेशनल एकेडेमीले यसैवर्षदेखि लिम्बु, राई बान्तावा र नेवारी भाषा पनि पठनपाठन गराउने भएको यसअघि घोषणा गरिसकेको छ। कलेजले पठनपाठनमा मात्र नभई कार्यालय सञ्चालनमा समेत आधुनिक प्रविधिको उपयोग गर्ने तयारी समेत गरेको जनाएको छ । एकेडेमीले यसैवर्ष आईएसओ प्रमाणपत्र चिन्ह प्राप्त गरेको हो ।