धरान: धरानको नेशनल एकेडेमीले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आईएसओ लिन सफल भएको छ । कुनै पनि संस्था, स्कुल तथा कलेजको गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय गुणस्तर आइएसओ चिह्न प्राप्त गर्ने नेशनल प्रदेश १ कै पहिलो र एक मात्र संस्था भएको छ ।

कलेजले यो चिह्न लिनको लागि गत बर्षदेखि प्रक्रिया थालेको जनाएको छ । आईएसओ प्रमाणीकरणको लागि अझै केही मापदण्डहरु कलेजले पुरा गर्न बाँकी रहेको छ । २०२१ जुलाई २८ मा चिन्ह लिन सफल कलेजले अंग्रेजी माध्यममा मेनेजमेन्ट तथा नेपाली माध्यममा एजुकेशन तथा ह्युमेनिटिज विषय अध्यापन गराउदै आएको छ । संस्थाले गुणस्तर चिन्ह लिएपनि निरन्तर आईएसओको अनुगमनमा बस्नु पर्ने हुन्छ । 

स्कुल तथा कलेजहरु नेपालका सम्बन्धित निकायको अनुगमनमा हुने साथै एक अन्तराष्टिय निकायको अनुगमनमा रहेर काम गर्दा अन्तराष्टियस्तरको गुणस्तर शिक्षामा प्राप्त हुने भएकोले आईएसओ चिन्ह लिएको कलेजका सिईओ देव सुब्बाले जानकारी दिए । उनले शिक्षामा गुणस्तर बृद्धिको लागि यो चिन्ह लिएको बताए । शिक्षाको हव तथा केन्द्र धरान हुदै गएको भन्दै उनले यसले नयाँ आयाम थप्ने पनि बताए । 

कलेजको गुणस्तरमा नयाँ आयाम थप्ने, शिक्षा क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्य गर्न सहयोग पुर्याउने, विद्यार्थी अभिभावकले नेपालमै एक अन्तराष्टियस्तरको गुणस्तर शिक्षा पाउने सुनिश्चित भएकोे कलेजका प्रिन्सिपल श्रीसिसा राईले जानकारी दिए । यसपछि यो कलेजमा अध्ययन पुरा गर्ने सबै विद्यार्थीहरुले आईएसओ अंकित प्रमाणपत्र पाउने उनको भनाई छ । यसको महत्व विश्व वजारमा बेग्लै हुने र सहजै विभिन्न अवसरहरु पाउने पनि राईको दाबी छ । यसका मापदण्डहरु पुरा गर्न कठिन भएपनि शिक्षाको गुणस्तरका लागि कलेज टिमले मेहनत तथा लगानी गर्ने भन्दै प्रिन्सिपल राईले विद्यार्थीहरुको प्रतिस्पर्धालाई पनि यसले सहज बनाउने बताए । 

प्लस टुको शिक्षामा अस्वस्थ्य प्रतिस्पर्धा बढेकोले अभिभावकको लगानी खेर जाने अवस्था आउन नदिन शिक्षा क्षेत्रको गुणस्तर वुद्धिमा निरन्तर लागिरहेको कलेजका अध्यक्ष सालिक सतासक राईको भनाई छ । अहिलेको विश्वब्यापी  प्रतिस्पर्धालाई नेपाली शैक्षिक उत्पादनले प्रतिस्पर्धा गर्न सकोस् भन्ने उद्देश्यले यो चिन्ह लिएको उनले बताए । कलेज यसअघि नै आईटीमय भइसकेको छ । कलेजमा सम्पुर्ण आईटी पुर्वाधारहरु तयार भएको छ । कलेजले आफ्ना विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउन र उनीहरुको सामाजिक विकास गर्न सामाजिक शिक्षा संगै लिम्बु, राई बान्तावा र नेपाल(नेवारी) भाषा पढाउने पनि तयारी गरेको छ ।