धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ६ जना सिनेट सदस्यले यहाँका पदाधिकारीहरुलाई कारबाहीको माग गर्दै निवेदन दिएका छन् । 

नाम गोप्य राखिएका ती सिनेटरहरुले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष हिजो बिहिबार नै निवेदन दिएका हुन् । आज कुलपतिले सहकुलपति एवं स्वास्थ्य राज्यमन्त्रीको अध्यक्षतामा थप २ जना सिनेट सदस्य राखेर छानबिन समिति गठन गर्ने बताइएको छ । प्रतिष्ठानका पदाधिकारीहरुलाई कारबाही वा पदमुक्त गर्नको लागि प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) अनुसार यो प्रक्रिया अघि बढेको हो । यसअघि उच्चस्तरीय छानबिन कार्यदलले चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न सरकारलाई सुझाव दिएको थियो भने स्वास्थ्य मन्त्रालयको वार्ता टोलीले आन्दोलनकर्मीहरुसँग सहमति गर्दा पनि ४ जना पदाधिकारीहरुलाई पदमुक्त गर्ने प्रक्रिया तत्कालै शुरु गर्ने सहमति भएको हो । 

सोही सहमतिलाई कार्यान्वयन गर्नको लागि ६ जना सिनेटरहरुले कुलपति समक्ष निवेदन दिएका हुन् । प्रतिष्ठानका कुनै पनि पदाधिकारीहरुलाई कारबाही गर्नुपर्दा ऐनको दफा ११(घ) अनुसार सहकुलपतिको अध्यक्षतामा छानबिन समिति गठन गर्नुपर्ने हुन्छ । यसको लागि सिनेट सदस्य संख्याको एक चौथाई अर्थात २५ प्रतिशतले निवेदन दिनुपर्ने हुन्छ । निवेदन दिएपछि गठन भएको छानबिन समितिले स्पष्टीकरणको मौका दिएर कारबाही गर्ने गरि प्रतिवेदन बुझाएमा सिनेट बैठकले बहुमतले पारित गरेर कुलपति समक्ष पठाउनुपर्छ । कुलपति एवं प्रधानमन्त्रीले स्वीकृत गरेपछि पदाधिकारी पदमुक्त एवं बर्खास्त हुने व्यवस्था छ ।  

संघर्ष समितिका सदस्य एवं विद्यार्थी प्रतिनिधि अमृत जैसीका अनुसार हिजो बिहिबार नै कुलपति समक्ष ६ जना सिनेटरले पदाधिकारीहरुलाई कारबाहीको माग गर्दै हस्ताक्षर गरेर बुझाएका छन् । 'निवेदन दिने को को भनेर गोप्य नै राखिएको छ, तर हिजो बुझाएको हो । अब स्वास्थ्य मन्त्रीको संयोजकत्वमा २ जना सिनेटर सदस्य राखेर छानबिन समिति गठन गर्नुपर्ने हुन्छ,'उनले भने ।