धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ मुटुरोग बिशेष डा.प्रशान्त साहलाई आफ्नो ओपिडीको पालो परेको दिन विरामी हेर्न भ्याई नभ्याई हुन्छ । 

गएको साता उनले सर्वाधिक विरामी हेर्ने आफ्नै रेडर्क तोडे, र उक्त दिन उनले ३२४ जना विरामी एक्लैले हेरे । विरामी चापले गर्दा उनी ओपिडीमा तोकिएको समयभन्दा अघि नै आइपुग्छन्, र राती ११, १२ बजेसम्म पनि विरामी हेरिरहेका हुन्छन् । ओपिडीमा आफ्नो विरामीको चाप यति हुँदा हुदै पनि अचेल डा.साह धरानमा एउटा नयाँ अभियानसँग जोडिएका छन् । यो अभियान हो, परिवर्तनको लागि सामाजिक अभियान ।

यो संस्थासँग जोडिएर डा.साहले पाक्षिकरुपमा एक शनिबार छोडेर अर्को शनिबार मुटुका विरामी जाँच गर्न थालेका छन् । यो अभियान अन्तर्गत आज (शनिबार) दोस्रो पटक पनि धरान १ स्थित धरान मोडेल कलेजमा उनले ३० जना नयाँ र पुराना विरामी जाँच गरे । वीपीको ओपिडी झै देखिए पनि यो अभियानको उद्देश्य अलि भिन्न र महत्वपुर्ण छ ।

dr-prashant3

संस्थाका अध्यक्ष विष्णु वराल आफ्नो लागि मात्र नभएर समाजको लागि पनि केही गरौं भन्ने अभिप्रायले संस्था दर्ता गरेर अभियान शुरुवात गरिएको बताउँछन् । उनका अनुसार डा.साहसँग समन्वय गरेर पाक्षिकरुपमा मुटुर रोगीहरुलाई उपचार सेवा दिन थालिएको हो । तर, यो अभियानमा ७० बर्ष उमेर कटेका ज्येष्ठ नागरिकहरुलाई मात्र अवसर मिल्नेछ । मुटु समस्या भएका ७० बर्ष कटेका ज्येष्ठ नागरिकहरुलाई टिकट काट्न, डाक्टरलाई ओपिडीमा पालो पर्खन गाह्रो हुने भएकोले सहजताको लागि यो अभियान थालिएको अध्यक्ष वरालले बताए । ‘७० बर्ष उमेर कटेका मुटु रोग भएका बुबा आमाहरुलाई अस्पतालमा उभिन पनि गाह्रो हुन्छ, उहाँहरुलाई सजिलो होस् भनेर डा.प्रशान्तलाई अनुरोध गर्यौ, र यो कार्यक्रम शुरु भएको हो,’वरालले भने ।

bishnu-baral

अभियानले हाल २० जना मात्र नयाँ विरामीलाई चेकअप गराइरहेको छ । फलोअपमा आउने २० जन गरि ४० जनालाई डा.साहले हेरिरहेको वरालले बताए । पुर्णनिःशुल्क भएपनि पैसा नलिदा महत्व नहुने भएकोले व्यवस्थापन भनेर ५० रुपैया मात्र लिइरहेको वरालले जानकारी दिए । साथै, कुनै निजी ल्याबलाई व्यवसायिकरुपमा फाइदा नपुगोस् भनेर विरामीहरुलाई वीपी प्रतिष्ठानभित्रको ल्याबमा नै जाँच गरेर रिपोर्ट ल्याउनुपर्ने व्यवस्था गरिएको पनि अध्यक्ष वरालले बताए । ‘व्यवसायिक कार्यक्रम नहोस् भनेर नै यस्तो गरिएको हो । यहाँ डाक्टरले हेरिसके पछि विरामीले वीपीको ल्याबमा नै जाँच गराउनुपर्छ, र फेरि फलोअपको लागि आउनुपर्छ,’उनले भने ।

pra

स्वास्थ्य र शिक्षामा बिशेष केही गर्ने लक्ष्यका साथ संस्था दर्ता गरेको खुलाउदै अध्यक्ष वरालले अहिले बालबालिकाहरुमा पढ्ने बानी हराएकोले भविष्यमा शिक्षाको क्षेत्रमा केही गर्ने सोच बनाएको बताए । उनका अनुसार पढ्ने बानी बसाउनको लागि धरानको कुनै एउटा वडालाई नमुना लिएर निःशुल्क ट्युसन पढ्ने व्यवस्था गर्ने योजना संस्थाले बनाएको छ । ‘दशैं तिहारपछि हामी कार्यान्वयन गर्नेछौं,’उनले भने ।