धरान: अधिवेशनको संघारमा पनि नेकपा एमाले धरानको विवाद साम्य नभएपछि प्रदेश र जिल्ला तहका नेताहरु वार्तामा बसेका छन् । 

सोमबार दिउँसो करिब ४ घण्टा होटल सन्ध्या इनमा भएको वार्ता निष्कर्षमा पुग्न भने सकेन । यद्यपी, दुवै पक्षका नेताहरुले वार्ता सकरात्मक भएको र मंगलबार बिहान पुनः छलफल हुने प्रतिक्रिया दिएका छन् । वार्तामा दुवै पक्षका नेताहरुले आ आफ्नो समुहको प्रस्तावसँगै धारणा पनि राखेका थिए । दुवै पक्ष नगर अधिवेशन एकै ठाउँमा गर्नुपर्नेमा सहमत भएपनि विवाद भएको ६ वटा वडा कमिटी र नगरको नेतृत्वबारे भने निष्कर्षमा पुग्न नसकेका हुन् । ती बिषयमा दुवै पक्ष आ आफ्नै अडानमा रहेको नेताहरुको भनाई छ । 

जेठ २ अघिको कमिटी पक्षका नेता प्रकाश राईका अनुसार छलफल सकरात्मक भएको छ । यद्यपी, सहमति जुट्न नसकेपछि भोली बिहान(मंगलबार) पुनः निष्कर्ष निकाल्ने गरि बैठक बस्ने सहमतिमा वार्ता स्थगित भएको उनले बताए । ‘हामीले ६ वटा वडा कमिटीको विवाद पनि मिलाऔ, र नेतृत्वबारे पनि प्याकेजमै टुंग्याऔ भन्यौ,’उनले भने,‘उहाँहरुले एकै ठाउँमा उद्घाटन गरौ, र बन्द सेसन पछि सारेर छलफल गरौं भन्नु भएको छ । यही प्रक्रियामा कुरा मिलने ।’ यद्यपी उनले पहिलो वार्ता भएको र छलफल सकरात्मक रहेको जिकिर गरे ।

एमाले संस्थापन पक्षका नेता मोतिराज सुनुवरले पनि वार्तामा दुवै पक्षबाट ब्रिफिङ भएको र सकरात्मकरुपमा छलफल अघि बढेको बताए । उनले मंगलबार बिहान सहमति हुने गरि पुनः वार्ता हुने दाबी गरे । उनले भने,‘नगर कमिटीलाई एकढिक्काको साथ अधिवेशनबाट अघि बढाउन पुर्णरुपमा सफल हुन्छौ । ब्रिफिङ सकरात्मक भएको छ, केही कुराको ब्रिफिङ बाँकी छ । भोली सबै कुरा मिल्छ ।’

एमाले संस्थापन पक्षले धरान १० सैनिक भवनमा भोली अधिवेशन उद्घाटनको तयारी गरेको छ । जेठ २ कमिटी पक्षले धरान १५ स्थित होटल इजी राइडरमा अधिवेशन गर्ने जनाएको छ । तर, स्थानीय नेता कार्यकर्ताहरुले दुवै पक्षलाई मिलेर एकै ठाउँमा अधिवेशन गर्न दबाब दिइरहेका छन् । शनिबार अधिवेशनबाट निवार्चित ९ वटा वडा कमिटी र २१ नम्बर शाखा कमिटीले मिलेर अधिवेशन नगरे दुवै समुहको कार्यक्रम बहिष्कार गर्ने तथा प्रतिनिधि नपठाउने चेतावनी पनि दिएको छ ।