धरान: मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीस्थित भित्रि पक्की सडकखण्डमा स्कारपियो र मोटरसाइकल एकआपसमा ठक्कर खादा ३ जनाको मृत्यु भएको छ । 

इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो शनिबार भाइटीकाको दिन उत्तरबाट दक्षिणतर्फ जादै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जादै गरेको बा १० च ४३०० नम्बरको स्कारपियो एकआपसमा ठक्कर खाएको थियो । साँझ ५ बजेर ४५ मिनेटमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका २ का ३० बर्षीय कमल कार्की र पछाडि सवार उर्लाबारी ३ का ५५ का कुल बहादुर सुवेदीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको शव उठाएर मंगलबारे अस्पताल उर्लाबारी पठाईएको प्रहरीले जनाएको छ । 

यस्तै, मोटरसाइकलमा पछाडि सवार रहेकी लेटाङ २ की ४५ किसिता कार्की गम्भीर घाईते भएकी थिइन् । उनलाई तत्काल स्थानीयले उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएका थिए । उनको उपचारको क्रममा ७ बजेर ४० मिनेटमा मृत्यु भएको ट्राफिक कार्यालय इटहरीले जनाएको छ। दुबै सवारी साधन र स्कारपियो चालक लेटाङ नपा २ का ३५ बर्षीय पुष्प बहादुर मगर ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहको छ ।

ट्राफिक प्रहरीका अनुसार चालकले मापसे नगरेको र घुमाउरो सडक भएकोले दुर्घटना भएको जनाएको छ । बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार जंगल क्षेत्र भएको र सडक खाली पनि भएकोले तीब्र गतिमा सवारी गुडेको कारण पनि दुर्घटना भएको बताए । साथै, मृतकहरु केराबारीमा भइटीका लगाएर फर्कदै गरेकाहरु भएको पनि प्रहरी निरीक्षक खनालले जानकारी दिए।