धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानले मोहीको पक्षमा भुमिसुधार कार्यालय सुनसरीले गरेको निर्णयविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ ।

क्याम्पसले उच्च अदालत विराटनगरमा भुमिसुधारको निर्णयविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको हो । यसको लागि क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरेर वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई रिट निवेदनको मस्यौदा तयार गर्ने जिम्मा दिएको थियो । अधिवक्त दाहालले मस्यौदा तयार गरेको र उक्त मस्यौदाबारे बिहिबार धरानका राजनीतिक दल र कानुन व्यवसायीहरुसँग छलफल गरिएको क्याम्पस प्रमुख दामोदर भण्डारीले जानकारी दिए । उनले भने,‘मस्यौदा प्राप्त भएपछि राजनीतिक दलका प्रतिनिधि र कानुन व्यवसायीसँग परामर्श भरेर राय, सुझाव लिएका छौ । अब मस्यौदालाई अन्तिमरुप दिएर यो साताभित्रै पुनरावेदन गछौं ।’

प्रमुख भण्डारीका अनुसार विश्वविद्यालयका कानुनी सल्लाहकारसँग पनि थप राय लिइनेछ, र मंगलबार वा बुधबारसम्म उच्च अदालतमा मुद्दा दर्ता हुनेछ । बिहिबार भएको छलफलमा नेपाली कांग्रेस, एमाले, जसपा, संघीय लिम्बुवानलगायत दलका प्रतिनिधि र कानुन व्यवसायीहरु सहभागी भएको क्याम्पस प्रमुख भण्डारीले बताए । अर्धन्यायिक निकाय भुमिसुधार कार्यालय सुनसरीले गत असोज २५ गते क्याम्पसको जग्गाको मोही डम्बरबहादुर घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीको नाममा मोही हक नामसारी गरिदिने निर्णय गरेको थियो । यो निर्णय नियतवश गरिएको भन्दै विरोध भइरहेको छ ।

क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे भए पनि उनलाई त्यसबेला चित्त बुझाएर नै जग्गा किनबेच भएको जानकारहरुको भनाई छ । तर, स्रेस्ताबाट मोहीको लगतकट्टा नहुदा अहिलेसम्म पनि मोही कायमै छन् । यद्यपी, जग्गामा मोही पक्षको भोगचलन छैन । क्याम्पसले घेराबारा गरेर भौतिक संरचनाहरु निर्माण गरेको छ । मोही घिमिरेको मृत्यु करिब २ दशकअघि नै भइसकेको थियो भने उनकी पत्नीको पनि निधन भएको दशक बढी समय भइसकेको छ । करिब ३ बर्ष अघि उनका छोरा यज्ञबहादुर क्षेत्रीले मोही हक आफ्नो नाममा नामसारी गर्न भुमिसुधार कार्यालयमा निवेदन दिएका थिए ।

शुक्रबार सार्वजनिक वहस

क्याम्पसको जग्गा मोही प्रकरणमा भोली शुक्रबार सार्वजनिक बहस कार्यक्रम हुने भएको छ । क्याम्पस प्रशासनको आयोजनमा बहस कार्यक्रम हुन लागेको हो ।

क्याम्पस प्रमुख भण्डारीका अनुसार बिहान ११ बजे क्याम्पसकै सेमिनार हलमा बहस कार्यक्रम राखिएको छ । उनले भने, क्याम्पसको जग्गा मोहीको बिषयमा शुक्रबार बिहान ११ बजे सार्वजनिक बहस कार्यक्रम राखेका छौ ।