धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमाफियाको हातमा पर्न नदिन विद्यार्थी संगठनहरुले खबरदारी गर्दे हस्ताक्षर संकलन अभियान थालेका छन् । 

क्याम्पसका संयुक्त विद्यार्थी संगठनले आइतबार क्याम्पसमा हस्ताक्षर संकलन गरेका हुन् । क्याम्पसको जग्गा संरक्षणको अभियानमा विद्यार्थीहरुले ऐक्यवद्धता जनाउदै हस्ताक्षर गरेका छन् । संकलन गरिएको हस्ताक्षर केही दिनभित्रै भुमिसुधार कार्यालय सुनसरी र क्याम्पस प्रशासनमा बुझाइने निवर्तमान स्ववियु सचिव एवं नेवि संघका नेता दोर्ची शेर्पाले जानकारी दिए ।

किनबेच भएको चार दशकपछि मोहीको हकवाला छोरालाई अघि सारेर भुमाफियाहरुले क्याम्पसको करोडौंको जग्गा हडप्न चलखेल शुरु भएपछि विद्यार्थी संगठडनहरु त्यसविरद्ध संघर्ष गरिरहेका छन् । सर्वत्र विरोध हुँदा हुदै पनि गत असोज २५ गते भुमिसुधार कार्यालय सुनसरीले मृत्यु भइसकेको मोहीको छोराको नाममा मोही हक नामसारी गरिदिने निर्णय गरेपछि विरोध भइरहेको छ ।

mahendra1 1

जग्गाको मोही डम्बर बहादुर घिमिरेको मृत्यु भएको २२ बर्ष बितिसकेको छ । क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे थिए । तत्कालिन जग्गाधनी श्याम गोविन्द श्रेष्ठका अनुसार मोही परिवारलाई खुशी बनाएर नै जग्गा क्याम्पसलाई बेचिएको थियो । तर, स्रेस्ताबाट मोहीको लगतकट्टा नहुदा अहिले भुमाफियाको चलखेलले समस्या उब्जिएको हो । 

क्याम्पसको उक्त जग्गामा मोही पक्षको भोगचलन छैन । त्यहाँ क्याम्पसले घेराबारा गरेर भौतिक संरचनाहरु निर्माण गरेको छ । मोही घिमिरेको २०५६ सालमा नै मृत्यु भएको थियो भने उनकी पत्नी शिवकुमारीको पनि २०६४ सालमा निधन भइसकेको छ । घिमिरे दम्पत्तिको निधन भएको लामो समयपछि २०७५ सालमा छोरा यज्ञबहादुरले मोही हक आफ्नो नाममा नामसारी गर्न भुमिसुधार कार्यालयमा निवेदन दिएका थिए ।