धरान: कर्मचारी र वडाका जनप्रतिनिधिहरुमा कोरोना संक्रमण पुष्टि देखिए पछि धरानको वडा नं १० को कार्यालय एक सातालाई बन्द गरिएको छ । 

वडा कार्यालयका अनुसार आज (आइतबार) देखि माघ १६ गतेसम्म वडा कार्यालय बन्द गर्ने निर्णय गरिएको हो । संक्रमण सेवाग्राहीहरुमा फैलिन नदिन कार्यालय बन्द गरिएको वडाअध्यक्ष श्रीप्रसाद सुब्बाले जानकारी दिए । उनले भने,‘जनप्रतिनिधि र कर्मचारीहरुमा संक्रमण देखियो, र अरुलाई संक्रमण नहोस् भनेर कार्यालय माघ १६ गतेसम्मलाई बन्द गरिएको हो ।’

वडा कार्यालयका सचिवसहित तीन जना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । यस्तै, एक जना वडा जनप्रतिनिधिलाई पनि संक्रमण पुष्टि भएको वडाअध्यक्ष सुब्बाले बताए । धरानमा कोभिड १९ को तेस्रो लहरको क्रममा तीब्रदरमा संक्रमण बढिरहेको छ । यसअघि पनि धरायन उपमहानगरपालिकाको न्यायिक समितिको सेवा बन्द गरिएको थियो भने वडा नं १४, ११ र २० को वडा कार्यालय पनि बन्द भएको थियो ।

wada-10-corona1