धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका डा.श्यामसुन्दर यादवले औपचारिकरुपमा काम थालेका छन् । 

डा.यादवले शुक्रबार प्रतिष्ठानमा सर्कुलर जारी गर्दै आफुले माघ १० गते नै हाजिर भएर सरकारको निर्देशन अनुसार कामकाज थालिसकेको जनाएका छन् । साथै उनले मन्त्रिपरिषदको निर्णय अनुसार सबै एकतावद्ध भएर प्रतिष्ठानको सर्वोपरि हितको लागि सहयोग गर्दै अघि बढ्न पनि सर्कुलरमा सम्पुर्ण शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुमा अनुरोध गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.यादव प्रतिष्ठानमा सोमबार आएका थिए । सरकारको निर्देशन वमोजिम उनी प्रतिष्ठानमा आएपनि चार दिनदेखि गेष्टहाउसमा बसेर भेटघाट गरिरहेका छन् । प्रतिष्ठान आएपछिको यो उनको पहिलो सर्कुलर हो । पुष ३० गतेको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानका विवादित पदाधिकारीहरुलाई काम गर्न रोक लगाउने र डा.यादवलाई अस्पताल तथा प्रतिष्ठानको प्रशासनिक काम गर्न पठाउने निर्णय गरेको थियो । सोही निर्णय वमोजिम स्वास्थ्य मन्त्रालयले उनलाई प्रतिष्ठानमा पठाएको हो ।

छानबिन समितिले वर्खास्त गर्न सिफारिश गरेका प्रतिष्ठानका पदाधिकारीहरुलाई सिनेट बैठक बसेर हटाउनुपर्नेमा सरकारले भने बैठक राख्न सकेको छैन । प्रतिष्ठान ऐन वमोजिम नियुक्ती भएका पदाधिकारीहरुलाई हटाउन पनि ऐनमा भएको प्रावधान वमोजिम सरकार अघि बढ्नुपर्ने हुन्छ । सिनेटमा बहुमत पुर्याएर छानबिन समितिको प्रतिवेदन पारित गरेपछि मात्र पदाधिकारीहरु पदच्युत हुन्छन् । तर, सरकारले सिनेट बैठक नराखी पदाधिकारीहरुलाई काम गर्न मात्र रोक लगाएको छ भने ऐन विपरीत डा.यादव र महालेखाबाट कर्मचारी पठाएको छ । सरकारको यो निर्णयविरुद्ध उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

sercular