धरान: स्वास्थ्य मन्त्रालयले प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा जिम्मेवारी दिएको छ । 

सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा.यादवलाई उपकुलपतिको हैसियतमा अस्पताल सञ्चालन तथा प्रतिष्ठानको दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी दिएका हुन् । मन्त्रालयले हालका उपकुलपतिको जाँचबुझ र निर्णयको अन्तिम निक्यौल नभएसम्मको लागि अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा र प्रतिष्ठानबाट सञ्चालन हुने अध्ययन, अध्यापन अवरुद्ध नहोस् भनेर प्रतिष्ठान ऐनको दफा २० क वमोजिम सहकुलपतिमार्फत प्रतिष्ठानमा निर्देशन दिने गरि मन्त्रिपरिषदले पुष ३० गते निर्णय गरेअनुसार निर्देशन दिइएको जनाएको छ ।

मन्त्रालयले डा.यादवलाई प्रतिष्ठान नियमावली २०५५ को नियम ६.४ वमोजिमको दैनिक अर्थिक, प्रशासनिक, शैक्षिक र अन्य तोकिएको काम, कर्तव्य र अधिकारसहित जिम्मेवारी तोकिएको जनाएको छ । यसैगरि, आर्थिक अधिकार प्रयोगमा डा. यादव र महालेखा नियन्त्रकको कार्यालयबाट खटिएका अधिकृत कर्मचारीको संयुक्त हस्ताक्षरबाट गर्न गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।