धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको पक्षमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले आज सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउदै वहालवाला पदाधिकारीहरुलाई काम गर्न, गराउन अल्पकालिन आदेश दिएको हो । आदेश आफुहरुको पक्षमा आएको जानकारी दिदै उपकुलपति डा.ज्ञानेन्द्र गिरीले अदालतले आफुहरुलाई न्याय दिएको बताए ।

उनले भने,‘विस्तृत आएको छैन,तर स्टे अर्डर भएको छ । हामीलाई काम गर्न दिनु भन्ने छ । न्यायलयप्रति विश्वास थियो, यो मैले होइन, संस्थाले, वीपी प्रतिष्ठानले न्याय भएको हो ।’ उपकुलपति डा.गिरीले आफ्नो लागि सबै बराबर र समान भएको पनि बताए ।

पुष ३० गतेको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानका वहालवाला पदाधिकारीहरुलाई काम गर्न रोक लगाउदै दैनिक प्रशासन र आर्थिक प्रशासन हेर्न मन्त्रालयबाट डा.श्यामसुन्दर यादव र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मन्त्रालयले डा.यादव र महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुखलाई प्रतिष्ठान पठाएको थियो । तर प्रतिष्ठानको ऐन र नियमावलीले उनीहरुलाई काम गर्न बाधक भएपछि दुवै फर्किएका थिए ।

काम गर्न नसकेर फर्किएका डा.यादवलाई स्वास्थ्यमन्त्री विरोध खतिवडाले पुनः माघ २६ गते उपकुलपतिको हैसियतमा काम गर्न दिने निर्णय गरेका थिए । उपकुलतिको हैसियतमा काम गर्ने जिम्मेवारी पाएपनि डा.यादव भने प्रतिष्ठान आएका छैनन् । यो निर्णयविरुद्ध पनि उपकुलपति डा.गिरीले अदालतमा रिट हालेका थिए ।