धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा काम गर्ने जिम्मेवारी पाए पनि स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.श्याम सुन्दर यादव अझै प्रतिष्ठान आएका छैनन् । 

उनलाई सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडाले उपकुलपतिको जिम्मेवारी दिने निर्णय भएको एक साता भएको छ । उनलाई माघ २६ गते मन्त्री खतिवडाले उपकुलपतिको हैसियतमा काम गर्न जिम्मेवारी दिने मन्त्रीस्तरीय निर्णय गरेका थिए । यो निर्णय पनि मन्त्रिपरिषदले पुष ३० गते गरेको निर्णय जस्तै विवादित बनेको छ भने यो निर्णयविरुद्ध पनि प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले माघ २८ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

उपकुलपतिको हैसियतमा काम गर्ने जिम्मेवारी पाएका डा.यादव भने बुधबार (आज) प्रतिष्ठान आउनसक्ने बताउँछन् । उनले महालेखा नियन्त्रक कार्यालयबाटै आर्थिक प्रशासन हेर्ने कर्मचारी लिएर आउने बताए । साथै, स्वास्थ्य मन्त्रालयबाट पनि प्रशासनका थप एक कर्मचारी पनि लिएर आउने जानकारी दिए । उनले संक्षिप्त प्रतिक्रिया दिदै भने,‘म बुधबार आउनसक्छु । आउदा तीन जना आउछौ, आएर त्यतै कुरा गरौला ।’

यसअघि मन्त्रिपरिषदले डा.यादव र महालेखाबाट उपसचिवस्तरको कर्मचारी पठाउने निर्णय गरेको थियो । महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जिवि अधिकारीलाई जिम्मेवारी दिएर पठाएको थियो । उनी डा.यादवसँगै प्रतिष्ठानमा आए पनि आर्थिक अधिकार प्रयोग गर्न ऐन र नियमावली वाधक रहेको देखेर केही दिनपछि आउनै छोडेका थिए । अहिले भने स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार महालेखा नियन्त्रकको कार्यालयबाट नै कर्मचारी पठाउन लागेको हो । । 

सरकारले प्रतिष्ठानका वहालवाला पदाधिकारीलाई काम गर्न रोक लगाएर मन्त्रालय र महालेखाबाट कर्मचारी पठाए पनि उनीहरुले यहाँ काम गर्न सकेका छैनन् । प्रतिष्ठानको ऐन र नियमावली विपरीत निर्णय भएकोले उनीहरुलाई प्रतिष्ठानका कर्मचारीहरुले पनि काम गर्न सहयोग गरेका छैनन् । यद्यपी, कर्मंचारीहरुले ऐन विपरीत आएका कर्मचारीको आदेश मान्ने कि नमान्ने भनेर अदालतको आदेश पर्खने र त्यसपछि थप निर्णय गर्ने भएका छन् ।