धरान: किर्ते मोही खडा गरेर भुमाफियाले महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा हडप्न प्रयास भएपछि जोगाउन गठित जग्गा बचाउ समितिले दबाबमुलक सडक संघर्ष गर्ने भएको छ । 

यसअघि मौन जुलुस गरिसकेको समितिले आइतबार धरानमा वृहत जुलुस निकाल्ने भएको छ । समितिले शनिबार क्याम्पसमा पत्रकार सम्मेलन आयोजना गर्दै आइतबार बिहान ११ बजे वृहत जुलुस निकाल्ने बताए । क्याम्पसको जग्गा कुनै पनि हालतमा भुमाफियालाई उपभोग गर्न नदिन जनजागरण अभियान अन्तर्गत जुलुस आयोजना गरिन लागेको संयोजक एवं पुर्व क्याम्पस प्रमुख कुमारबहादुर कार्कींले जानकारी दिए । 

समितिका अनुसार आइतबार बिहान ११ बजे क्याम्पस प्रांगणबाट जुलुस अघि बढ्नेछ । जुलुस छाताचोक, सिंहदेवी चोक हुदै भानुचोकमा पुग्नेछ । त्यहाँबाट पुनः आम नगरबासीहरुलाई जग्गा भुमाफियाबाट संरक्षण गर्न जनजागरणमा सहभागी हुन आह्वान गर्ने पनि उनले बताए । 

mahendra1

संयोजक कार्कीले महेन्द्र क्याम्पसको मात्र नभै चन्द्र सँस्कृत मावि, पिण्डेश्वर विद्यापिठ, पब्लिक मावि फुस्रेलगायत अन्य शैक्षिक संस्थाहरुको पनि अतिक्रमण भएको जग्गाको पनि खोजी गर्न र सम्बन्धित संस्थाको हकभोगमा ल्याउन उनले आह्वान गरे । 

क्याम्पसको जग्गा अतिक्रमण भएमा संस्थाको शैक्षिक एवं भौतिक विकासमा असर पुग्ने भएकोले सबै धरानबासीहरु माफियाविरुद्ध उभिन पनि आह्वान गरे । उनले भुमाफियालाई कुनै पनि हालतमा क्याम्पसको जग्गा भोग गर्न नदिने दाबी गर्दै संयोजक कार्कीले त्यो जग्गामा गाँडिएको आँखा फोडिदिने चेतावनी दिए । ‘केही गर्न आउछन् भने यो समिति दृढतापुर्वक लड्न, हामीसँग नैतिक वल छ, त्यसैको आधारमा ती गलत तत्वलाई हामी परास्त गछौ,’उनले भने । 

क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे थिए । मोही परिवारलाई खुशी बनाएर नै जग्गा क्याम्पसलाई बिक्री गरिएको तत्कालिन जग्गाधनी श्याम गोविन्द श्रेष्ठले बताउदै आएका छन् । स्रेस्ताबाट मोहीको लगतकट्टा नहुदा अहिले भुमाफियाले मोहीको छोरालाई अघि सारेर जग्गा कब्जा गर्न लागेको हो । मोहीले जग्गाको ५० प्रतिशत जग्गा पाउने कानुनी प्रावधान छ । यो हिसाबले क्याम्पसबाट मोहीले पाउने जग्गाको मुल्य कम्तीमा २० करोडको हुन्छ । 

 क्याम्पसको उक्त जग्गामा मोही पक्षको भोगचलन छैन । त्यहाँ क्याम्पसले घेराबारा गरेर भौतिक संरचनाहरु निर्माण गरेको छ । मोही घिमिरेको २०५६ सालमा नै मृत्यु भएको थियो भने उनकी पत्नी शिवकुमारीको पनि २०६४ सालमा निधन भइसकेको छ । घिमिरे दम्पत्तिको निधन भएको लामो समयपछि छोरा यज्ञबहादुरले २०७५ मा नाता प्रमाणित गरेर  मोही हक आफ्नो नाममा नामसारी गर्न भुमिसुधार कार्यालयमा निवेदन दिएपछि उक्त कार्यालयले मोही हक नामसारी गर्ने फैसला गरेको थियो । त्यसविरुद्ध क्याम्पस प्रशासनले पुष १४ गते उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ ।