धरान: धरान-भेडेटार सडक खण्डमा जेब्रा झोलाभित्र शरीर टुक्रा टुक्रा अवस्थामा भेटिएका ४३ बर्षीय दिनेश सिग्देलको हत्या उनकै कान्छी श्रीमति र प्रेमीले मिलेर गरेको पाइएको छ । 

पुख्यौली घर इलामको चुलाचुली गाउँपालिका ५ बाँझो घर भएका सिग्देललाई अनिता नाम गरेकी उनकै कान्छी श्रीमति र भण्डारी थरका प्रेमीले मिलेर हत्या गरेको खुलेको हो । दिनेशको गत पुष २२ गते नै हत्या भएको पाइएको छ । मृतक दिनेशले करिब अढाई दशकअघि निर्मला सिग्देलसँग विवाह गरेका थिए । उनी पुख्यौली घरमा नै बस्छन् । 

दिनेशले पुनः १० बर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए । त्यसपछि उनी विराटनगरतिर बस्दै आएका थिए । पछिल्लो समय ऊनी दमकमा बस्दै आएका थिए ।वैदेशिक रोजगारीमा बहराईन गएका दिनेशकी कान्छी श्रीमति अनिताको यता परपुरुषसँग सम्बन्ध बढेको थियो । त्यसबारेमा उनले थाह पाएपछि पुष २० गते नेपाल आएका थिए । घर व्यवहार मिलाउन आएका दिनेशलाई कान्छी श्रीमति अनिता र उनकै प्रेमी मिलेर हत्या गरेको जेठी श्रीमति निर्मलाले टेलिफोन सम्पर्कमा क्लिकधरानलाई जानकारी दिइन् । उनले भनिन्,‘कान्छी श्रीमति विहे गरेपछि विराटनगरतिर बस्दै थियो । प्रेमीसँग लागेको थाह पाएर आएको रहेछ । उनीहरुले मिलेर मारेछन्, र धरानको जंगलमा फालेछन् ।’

जेठी श्रीमति निर्मलाका अनुसार कान्छी श्रीमति र प्रेमी मिलेर राती बेहोस बनाएका थिए । त्यसपछि घाँटी थिचेर हत्या गरे । अनि, फलाम काट्ने मेशिनले शरीर काटेर टुक्रा बनाइ धरानको जंगलमा लगेर फालेको उनले जानकारी दिइन् । ‘प्रहरीले कान्छी अनिता र उसको प्रेमीलाई पनि समातेको छ,’उनले भनिन् । दिनेको जेठी श्रीमतितर्फ २ छोरा र २ छोरी छन् भने कान्छीतर्फ पनि एउटी छोरी छिन् । 

गएको बुधबार र बिहिबार धरान ४ को आपगाँछी क्षेत्र जंगलमा २ वटा झोलामा पुरुषको शरीरको विभिन्न भागहरु काटेर फालेको अवस्थामा भेटिएको थियो । शवको सनाखत हुन नसक्दा प्रहरीले मृतकको अनुहारको स्केच तयार गरेर सार्वजनिक समेत गरेको थियो । बुधबार करिब ४ बजेतिर दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिएपछि जेब्रा झोलामा टाउको र एउटा खुट्टा मात्र फेला पारेको थियो । संघीय प्रहरी इकाई र ईलाका प्रहरी कार्यालय धरानको टोली जंगलमा सर्च गर्दा भोलीपल्ट बिहिबार थप अर्को जेब्रा झोलामा शरीरका अन्य भागहरु पनि फेला परेको थियो ।