सुनसरी: आफ्नो कार्यकाल सकिन लागेको बेला इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले २ दिनमा ६ वटा आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । 

शुक्रबार ३ वटा आधारभूत अस्पताल उद्घाटन भएको इटहरीमा शनिबार पुनः ३ वटा अस्पतालको उद्घाटन भएको छ । शनिबार इटहरीको वडा नम्वर १०, ११ र १३ मा नगर प्रमुख द्धारिकलाल चौधरीले नवनिर्मित स्वास्थ्य इकाई भवनको उदघाटन गरेका छन् । उनले आधारभूत सेवा लिन गाँउका जेष्ठ नागरिक, महिला, वालवालिका लगायतले शहर जानु पर्ने अवस्थाको अन्त्य भएको बताए । उनले विद्यार्थीलाई नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह पनि गरे । 

itahari-health1

उपप्रमुख लक्ष्मी गौतमले संघीयता कार्यावन्यन गर्ने क्रममा इटहरी उपमहानगरपालिकावाट भएका विकासको कारण जनताले गाँउ गाँउमा सिंहदरबार आएको अनुभुति गरेको बताइन् । वडा नम्वर १० मा वडाध्यक्ष प्रकाश चौधरी, ११ मा वडाध्यक्ष रुपेश चौधरी र वडा १३ मा वडाध्यक्ष शिव नारायण चौधरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । 

कार्यक्रममा इन्जिनियर अरुण राजवलटले भवन निर्माण लागतको वारेमा र स्वास्थ्य संयोजक धनश्याम सिग्देलले स्वास्थ्य इकाइवाट प्राप्त हुने सेवाका बारेमा जानकारी दिएका थिए । हिजो शुक्रबार मात्र वडा नम्वर १८, १९ र २० मा स्वास्थ्य इकाइ भवन उदघाटन गरिएको थियो ।