धरान: अहिले धरानमा खानेपानीको चरम अभाव छ । धारामा पानी नआउदा धराने जनताले महंगोमा ट्यांकरबाट पानी किनेर पिउनु परिरहेको छ भने वडाका जनप्रतिनिधिहरुलाई पनि ट्यांकरमार्फत आफ्ना जनतालाई पानी वितरण गर्नुपर्ने बाध्यता छ । 

खानेपानी समस्या हल गर्ने भनेर झण्डै पानै २ अर्ब खर्च भइसकेको धरान खानेपानी आयोजना (आइयुडिपी)बाट पनि समस्या हल हुन सकेको छैन भने खानेपानी संस्थानलाई बोर्डमा समयोजन गरिसक्दा पनि खानेपानी अभाव झन् विकराल हुदै गएको छ । विगतमा धरानको चुनावी एजेण्डा बनाएका राजनीतिक दल र नेताहरुलाई अहिले खानेपानी समस्या गलपासो बनेको छ । पानै २ अर्ब खर्च भएको आयोजना असफल भएको त होइन ? भन्ने आशंकाहरु पनि पैदा भएको छ । 

यसैसन्दर्भमा आइतबार नेकपा एमालेले चारकोशे जंगलस्थित पम्पिङ क्षेत्रको स्थलगत अवलोकन गर्यो भने खानेपानी समस्याबारे आफ्नो आधिकारिक धारणा पनि सार्वजनिक गरेको छ । नेकपा एमालेले भुमिगत स्रोतबाट आयोजनाको डिजाइन अनुसार नै पानी उत्पादन भएको तर खानेपानी बोर्डले वितरणमा व्यवस्थापकीय काम गर्न नसक्दा अभाव चुलिएको जनाएको छ । खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष मेयर हुने प्रावधान छ । अहिले बोर्डको अध्यक्ष मेयर तिलक राई छन् । एमालेबाट निवार्चित मेयर तारा सुब्बाको निधन पछि भएको उपनिर्वाचनबाट नेपाली कांग्रेसलाई ऐतिहासिक जित दिलाउदै राई मेयरमा निवार्चित भएका थिए ।

dharan-khanepani3

एमाले प्रदेश नं १ कमिटी सदस्य मुरारी सुवेदीले डिजाइन अनुसार पानी उत्पादन भएको देखिए पनि वितरणमा चरम समस्या भएको बताए । ‘डिजाइन गर्दाको बेला जति पानी उत्पादन हुन्छ भन्ने थियो, त्यो अहिले पनि भइरहेको देखिन्छ । सुक्खा याममा सबै मिलाएर पम्पिङको १ करोड ५२ लाख लिटर र सतह(खोला)को ४० लाख गरि १ करोड ९२ लाख लिटर पानी १० देखि १२ बर्षसम्म पुग्छ भन्ने थियो, त्यो उत्पादन भएके देखिन्छ,’ उनले भने,‘यो हेर्दा के लाग्यो भने पानी वितरणमा चरम समस्या छ । प्राविधिकसँग कुरा गर्दा पनि स्वीच थिच्न मात्र आउछ भन्छ । जनताले पनि कुनै क्षेत्रमा पानी आएको आएकै, कुनै क्षेत्रमा आउदै आउदैन भन्ने गुनासो छ । यो हेर्दा खानेपानी बोर्डले व्यवस्थापकीय काम गर्न नसकेको भन्ने ठहर भएको छ ।’

dharan-khanepani4

कार्यवाहक मेयरकोरुपमा उपमेयर मञ्जु भण्डारी सुवेदी रहदा थप २ वटा वेलबाट पानी परीक्षण गरिएको थियो । उक्त वेल ३ दिनजति काम गर्दा सञ्चालनमा आउने र थप ४० लाख लिटर पानी थपिने भन्दै नेता सुवेदीले ती २ वटा पम्प तत्काल सुचारु गर्नुपर्ने पनि माग गरे । उनले भने, ‘पानी सतहबाट प्रशस्त आउदा वितरणमा अपरेटरले मिलाउन नसक्दा घर घरमा पानी पुगेकै हो । पानी नै कम हुदा मिलाएर खुवाउन नसक्ने र उत्पादन भएको पानीलाई के कारणले रोकि राखेको हो ? अविलम्ब खानेपानी बोर्डसँग नीतिगत निर्णय गरेर प्राविधिक कुरा टुंग्याएर खानेपानीको हाहाकार अन्त्य गर्न अपिल गछौं ।’

एमालेले खानेपानी वितरण तथा व्यवस्थापकीय अस्तब्यस्तताबारे चिन्ता प्रकट गर्दै बोर्डको ध्यानाकर्षण गराउने पनि जनाएको छ । खानेपानी परियोजना असफल नभएको दाबी गर्दै नेता सुवेदीले बोर्ड सञ्चालकहरुको कुशलता नदेखिएर त्यस्तो आशंका पैदा भएको बताए । उनले भने,‘खानेपानी परियोजना पानी उत्पादनको अवस्थासम्म असफल भएको होइन, बोर्ड सञ्चालकहरुको कुशलता नदेखिएकोले त्यस्तो लागेको हो । हामी पानीजस्तो संवेदनशील कुरालाई पहिलो प्राथमिकता दिएर बोर्ड लागेस् भनेर ध्यानाकर्षण गराउछौं ।’

भिडियो: