धरान: ईलाका प्रहरी कार्यालय धरानको प्रमुखमा काज सरुवा भई आएका डिएसपी बुद्ध श्रेष्ठले आफु कसैलाई काखा र कसैलाई पाखा नगरि काम गर्ने बताएका छन् ।

धरानका राजनीतिक दलका नेताहरुसँग बुधबार परिचयात्मक कार्यक्रम गर्दै डिएसपी श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएका हुन् । डिएसपी श्रेष्ठले आफुले गर्ने कार्यहरु व्यक्ति बिशेषको लागि नभै समाज बिशेषलाई मात्र हुने पनि जिकिर गरे । 'म तपाईहरुलाई विश्वास दिलाउनेछु कि मैले गर्ने कार्य केवल समाजको लागि गर्ने हो,'उनले भने,'समाजमा धेरै दल, बुद्धिजिवि, पत्रकार, धनी र गरिब होला, जाति, धर्म होला । त्यसेले मैले गर्ने काम व्यक्ति बिशेषमा हुदैन, समाज बिशेषलाई हुन्छ । राम्रो कामको सदैव प्रशंसा गर्छु, सहयोग गर्छु ।'

डिएसपी श्रेष्ठले सरुवा र बढुवा नियमित प्रक्रिया भएको उल्लेख गर्दै आफ्नो कार्यकाल स्मरणीय बनाउन र धरानेहरुको मनमा सरुवा नहोस् भन्ने गरि काम गर्ने पनि बताए । सबैलाई समान सहयोग गर्ने भन्दै डिएसपी श्रेष्ठले कसैलाई काखा र कसैलाई पाखा गर्ने पनि बताए । 'कुनै दल, व्यक्ति, जाति, धर्मलाई माथि उचालेर काम गर्ने छैन । सबैलाई समान व्यवहार गर्नेछुँ । तपाईहरुलृे पनि मलाई मार्गनिर्देश गर्नुपर्छ,'डिएसपी श्रेष्ठले भने । 

dsp-budha-sth1

डिएसपी श्रेष्ठले स्थानीय तह निर्वाचन आफ्नो एक्लो प्रयासबाट मात्र सफल नहुने भएकोले सबैको साथ, सहयोग आवश्यक भएको बताए । उनले सबैको साथ पाएमा निर्वाचनलाई भयरहित र सौहार्दपुर्ण वातावरणमा सम्पन्न हुने पनि उनले बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति श्याम पोख्रेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रेवतीरमण राई, संघीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष अमर इजमलगायतले सुझावहरु दिएका थिए । उनीहरुले धरानको गुण्डागर्दी, लागुऔषधलाई नियन्त्रण गर्नुपर्ने, प्रहरीले पनि राजनीतिक दलहरुसँग आवश्यक समन्वय गर्नुपर्ने, सहर क्षेत्रमा मात्र नभै ग्रामिण क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा गर्नुपर्ने लगायत सुझाव दिएका थिए । 

डिएसपी श्रेष्ठ गत बिहिबार प्रहरी प्रधान कार्यालयबाट काज सरुवा भई धरान आएका हुन् । धरानका डिएसपी नरेन्द्र कुँवरलाई प्रधान कार्यालयले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर काज सरुवा गरेर उनको ठाउँमा श्रेष्ठलाई पठाएको हो । श्रेष्ठको पुख्यौली घर भोजपुरको टेम्के मैयुङ गाउँपालिका हो । हाल उनको बसोबास सुनसरीको पकलीमा छ । उनी २०५८ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए भने २०६२ सालमा खुल्ला स्पर्धाबाट प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।