धरान: नेकपा एमाले प्रदेश कमिटीले धरानको मेयर र उपमेयरको उम्मेदवारका आकांक्षीहरुको नाम केन्द्रमा पठाएको छ । 

प्रदेश कमिटीका पदाधिकारीहरुको बैठक बसेर मेयरमा ४ जना र उपमेयरमा ५ जनाको नाम केन्द्रमा पठाएको हो । एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकका अनुसार मेयरमा मोतिराज सुनुवार, मञ्जु भण्डारी, मनोज मेन्याङ्बो र विजय राईको नाम पठाइएको छ । उपमेयर मञ्जु भण्डारीको नाम उपमेयरमा पनि सिफारिश भएको छ । यस्तै, पदम इस्वो, शुशिला पहाडी, लहरुमाया जिमी र सविता चाम्लिङ राईको नाम पनि केन्द्रमा सिफारिश भएको छ । 

धरान उपमहानगर कमिटीले सिफारिश गरेको मेयर र उपमेयरका आकांक्षीहरुको नाम जिल्ला कमिटीबाट काँटछाट भएर प्रदेश कमिटीमा पुगेको थियो । धरानबाट भने मेयरमा ११ जना र उपमेयरमा ६ जनाको नाम सिफारिश भएको थियो । प्रदेश कमिटीले जिल्लाबाट सिफारिश भएका नामहरुमा केही सुझावसहित केन्द्रमा पठाएको सचिव पाठकले बताए । उनले भने,‘प्रदेशले पुलको रुपमा मात्र काम गर्ने हो । उम्मेदवारको निर्णय केन्द्रबाट नै हुन्छ ।’

मेयर-उपमेयरमा कस्को सम्भावना ?

प्रदेशबाट केन्द्रमा नाम सिफारिश भएपछि अहिले धरानका एमाले नेता, कार्यकर्ताहरुको नजर बालकोटतिर सोझिएको छ । कतिपय उम्मेदवारका आकांक्षीहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न काठमाण्डौंमा छन् । 

नेताहरुका अनुसार धरानको मेयर र उपमेयरमा कसलाई उठाउने भनेर विभिन्न विकल्पमा छलफल भएको थियो । यद्यपी, कसैको नाममा जोड नदिइएको नेताहरुको भनाई छ । प्रदेश सहइञ्चार्जसमेत रहेका नेता टंक आङबुहाङ भन्छन्,‘मेयरमा फलाना हुँदा उपमेयर फलना उठाउदा के हुन्छ, भनेर छलफल भयो । तर, यो मेयर, यो उपमेयर भनेर तोकेर सिफारिश भएको छैन ।’

एमाले नेताहरुका अनुसार मञ्जु भण्डारी मेयर हुँदा उपमेयर पदम इस्वो बनाउने गरि पनि छलफल भएको छ भने मेयरमा मनोज मेन्याङ्वो, मोतिराज सुनुवार र विजय राईलाई उम्मेद्वार बनाउँदा उपमेयरमा मञ्जु भण्डारीलाई नै दोहोर्याउने विकल्पबारे पनि छलफल भएको छ । तर, उपमेयरमा भण्डारीले दोहोरिन नचाहदा विकल्पमा सविता राई, शुशिला पहाडी वा लहरुमाया जिमीको उपमेयरमा टिकट पाउने सम्भावना हुन्छ । पदम इस्वो र सविता राई जिल्ला कमिटी सदस्य हुन् भने शुशिला पहाडी र लहरु जिमी प्रदेश कमिटी सदस्य हुन् । ‘मेयरमा कस्ले टिकट पाउछ, त्यसको आधारमा उपमेयर निर्धारण हुन्छ,’एक एमाले नेताले भने ।

कसको पहुँच कति ?

सिफारिशमा परेका उम्मेदवारहरुको पहुँच बालकोटमा कति छ, त्यसआधारमा टिकट कस्ले पाउने भन्ने निर्धारण हुनेछ । सबै उम्मेदवारहरु आ आफ्नै लविङमा ब्यस्त छन् । एक एमाले नेता भन्छन्,‘मेयरको टिकट सिफारिशमा परेका ४ मध्ये एक जनाले नै ल्याउने हो । बालकोटमा के खिचडी पाक्दैछ, यहाँबाट हामीले अनुमान मात्र गर्ने हो । जसले टिकट ल्याए पनि एमालेलाई जिताउन सबै लाग्नुपर्छ ।’

manju-bhandari

बालकोटमा पहुँचको हिसाबले वलियो सम्भावना मञ्जु भण्डारीको छ । विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएकी भण्डारी वहालवाला उपमेयर हुन् भने एमाले केन्द्रीय कमिटी सदस्य पनि हुन् । उनी अनेमसंघ सुनसरी जिल्ला अध्यक्ष पनि छिन् । २०७४ को स्थानीय निर्वाचनमा एमालेबाट मेयरमा विजयी भएका तारा सुब्बाको निधन पनि उनी झण्डै डेढ बर्ष कार्यवाहक मेयरकोरुपमा धरान उपमहानगरको नेतृत्व गरिन् । उनले पनि केन्द्रमा पहुँच बनाएकी छिन् । उनका श्रीमान् मुरारी सुवेदी एमाले प्रदेश १ कमिटी सचिवालय सदस्य र धरानमा बिषम समयमा पनि ओली समुहलाई जोगाउदै स्थापित गर्ने नेता हुन् । उनको पनि ओली र ओलीको किचन क्याबिनेटमा राम्रो पहुँच भएकोले उपमेयर भण्डारीकै पल्ला भारी रहेको एमाले नेताहरु बताउँछन्।

मेयरको दौडमा रहेका नेता मोतिराज सुनुवार पनि उम्मेद्वारका वलिया प्रतिस्पर्धी हुन् । उनी मजदुर राजनीतिबाट उदाएका नेता हुन् । एमाले निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय अध्यक्ष समेत उनी भइसकेको नेता हुन् भने एमालेको सुनसरी जिल्ला सचिव पनि भइसकेका छन् । सुनुवार मिडिया उद्यमी पनि हुन् । उनी औजार प्रकाशन सहकारी संस्थाको अध्यक्ष छन् । यो संस्थाले औजार दैनिक पत्रिका र औजारन्युज डटकम प्रकाशन, प्रसारण गर्छ । 

moti-sunuwar

हाल सुनुवार एमाले प्रदेश १ कमिटी सदस्य तथा सुनसरी क्षेत्र १ (क) का इञ्चार्ज पनि छन् । अहिलेसम्म कुनै पनि लाभको पदमा नबसेका सुनुवारले यसपाली मेयरमा टिकट पाउनुपर्ने भन्दै धेरै एमाले नेता, कार्यकर्ताहरुबीच चर्चा हुने गरेको छ । उनको पनि एमाले केन्द्रीय नेताहरुसँग पहुँच भएकोले टिकट ल्याउने सम्भावना प्रवल भएको नेताहरु बताउँछन् ।

एमालेबाट मेयरको उम्मेदवारका प्रवल सम्भावना रहेका अर्का नेता हुन् मनोज मेम्याङ्बो । उनी धरानको उपमेयर र मेयर भइसकेका व्यक्ति हुन् । यस्तै, २०६४ मा पहिलो संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेद्वार थिए, तर उनी तत्कालिन माओवादी केन्द्रका उम्मेदवार किरण राईसँग पराजित भएका थिए । 

त्यसयता राजनीतिमा सक्रिय नदेखिए पनि हरेक निर्वाचनमा मेन्याङ्बोको चर्चा हुने गरेको छ । अहिले पनि एमालेबाट मेयरको उम्मेद्वारकोरुपमा उनको नाम चर्चामा मात्र छैन, धरान उपमहानगर कमिटीबाट जिल्ला, प्रदेश हुँदै केन्द्रमा पनि सिफारिश भएकोले मेयरमा उनको पनि सम्भावना उतिकै छ । उनको पनि एमाले केन्द्रीय नेताहरुसँग पुरानै चिनजान र सम्बन्ध भएकोले टिकट ल्याउन गाह्रो छैन । उनी हाल एमाले प्रदेश कमिटी सचिावलय सदस्य छन् ।

manoj-menyambo

कम्युनिष्ट गढमा २०७६ को उपनिर्वाचनमा कांग्रेसले जितेको र अब पुनः एमालेको विरासत फर्काउन मेन्याङ्बोलाई मेयरकोरुपमा अघि सार्नुपर्ने माग एमाले पंक्तिमा मात्र होइन, अन्य दलका नेता, कार्यकर्ताहरुले पनि यस्तै अभिव्यक्ति दिइरहेका छन् । एमालेबाट मेन्याङ्बो मेयरमा उठे गठबन्धन गरेपनि जित्न गाह्रो पर्ने उनीहरुको भनाई छ । आधुनिक धरानको जग बसाउने र विकास गर्ने श्रेय पुर्वमेयर ध्यानबहादुर राई र मेन्याङ्बोलाई जान्छ । उनीजस्तै बोल्ड निर्णय गर्नसक्ने मेयर धरानलाई आवश्यक भएको अधिकांशको बुझाई पनि छ । 

धरानको राजनीतिमा पछिल्लो समय आफुलाई स्थापित गरेका नेता हुन् विजय राई । उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा स्ववियु सभापति समेत भइसकेका राईको सम्बन्ध केन्द्रीय नेताहरुसँग भएकोले उनले पनि टिकट ल्याउनसक्ने क्षमता राख्छन् । उनी राष्ट्रिय खेलकुद परिषदको सदस्य पनि भइसकेका व्यक्ति हुन् भने नेपाल खेलकुद महासंघको संस्थापक उपाध्यक्ष पनि हुन् । झलनाथ खनाल प्रधानमन्त्री हुँदा राई प्रधानमन्त्रीको सचिवालयमा काम गरेका थिए । उनी हाल एमाले प्रदेश सचिवालय सदस्य तथा सुनसरी क्षेत्र १ (ख) का इञ्चार्ज पनि हुन् । 

bijay-rai

राई यसअघि २०७६ को उपनिर्वाचनमा पनि मेयरमा तत्कालिन नेकपाको प्रदेश कमिटीबाट सिफारिशमा परेका थिए । त्यसबेला उनी धरानको राजनीतिमा चर्चामा आएका थिए । केन्द्रका नेताहरुसँग उनको पनि पहुँच राम्रो भएको एमाले नेता, कार्यकर्ताहरुको भनाई छ ।