धरान: नेकपा एमालेका नेता एवं धरानमा मेयरका आकांक्षी मोतिराज सुनुवारले केन्द्रीय कमिटीमा सिफारिश भएकामध्ये जसले टिकट पाए पनि सबैले जिताउन अघि बढ्ने बताएका छन् ।

शुक्रबार धरानमा निर्वाचन परिचालन मुल कमिटीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै एमाले प्रदेश कमिटी सदस्य सुनुवारले यस्तो धारणा व्यक्त गरेका हुन् । धरानको मेयरमा नेता सुनुवारसहित उपमेयर मञ्जु भण्डारी, मनोजकुमार मेन्याङ्बो र विजय राई प्रदेश कमिटीबाट केन्द्रमा सिफारिशमा परेका छन् । नेता सुनुवारले मेयरको उम्मेदवारमा को आउछ भन्ने कौतुहल सबैको मनमा भइरहेको भन्दै भने, ‘म भन्न चाहन्छु, हामी चारै जनाको कुरा यही हो । हामी समग्र धरान हाँक्नको लागि योग्य छौ । पार्टीले जसलाई पठाए पनि जिताउन हिड्नेछौ ।’

moti

नेता सुनुवारले केन्द्रमा उम्मेदवारबारे छलफल चलिरहेको खुलाउदै पार्टीले जुनै जिम्मेवारी दिए पनि स्वीकार गरेर पुरा गर्ने बताए । उनले भने, ‘हामीलाई मेयरमा मात्र होइन । जुन जुन जिम्मेवारी पार्टीले दिन्छ, कुचो बडार्ने हो कि, इटा बोक्ने हो कि अथवा भाषण गर्ने जिम्मेवारी दिने हो कि वा पार्टी चलाउने जिम्मेवारी दिने हो, हामी तयार छौ ।’ पार्टीले मेयरको टिकट जसलाई दिए पनि हर्षोल्लासका साथ जिताउ अघि बढ्ने पनि नेता सुनुवारको भनाई थियो । 

टिकट पाउदा पनि र नपाउदा पनि लडाई नगर्ने भन्दै उनले पुर्व मेयर ध्यानबहादुर राई, मनोज मेन्याङ्बो, उपमेयर मञ्जु भण्डारीबारे पनि प्रश्न नउठेकोले एमाले सुद्ध रहेको र सचेत पनि भएको बताए । धरानको समग्र समस्याहरुबारे एमालेका वडा तहसम्मलाई जानकारी भएको र समस्या समाधान गर्न हरेक ठाउँमा उपस्थित हुने गरेको भन्दै उनले यसपाली धराने जनताले एमालेलाई नै जिताउने पनि बताए । 

भिडियो: