धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न धरानका थप २ वडाअध्यक्षले पदबाट राजिनामा दिएका छन् ।

धरानको वडा नं १ र ४ का वडाअध्यक्षले पनि पदबाट राजिनामा दिएका हुन् । योसँगै राजिनामा दिने वडाअध्यक्षहरुको संख्या ८ पुगेको छ । वडा नं १ का अध्यक्ष रोशन अधिकारीले पनि पदबाट राजिनामा दिएका छन् भने वडा नं ४ का अध्यक्ष मानबहादुर राईले पनि शनिबार दिउँसो राजिनामा दर्ता गरेका छन् । अधिकारी २०७४ मा कांग्रेसबाट निवार्चित वडाअध्यक्ष हुन् भने राई नेकपा एमालेबाट निवार्चित भएका थिए । उनले राजिनामा दिएपश्चात आज (शनिबार) नै पार्टी परित्याग गरेर एकीकृत समाजवादी प्रवेश गरिसकेका छन् ।

यसअघि आजै धरान ५ का वडा अध्यक्ष सन्तोष लिम्बु, वडा ७ का अध्यक्ष जिवनराज सुवेदी, वडा १३ का अध्यक्ष नेत्र काफ्ले, वडा १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई, वडा नं १७ का अध्यक्षका सुर्यबहादुर भट्टराई (मनोज) र वडा १९ का अध्यक्ष पुर्ण लिम्बुले पनि राजिनामा दिइसकेका छन् । उनीहरु पनि वडाअध्यक्ष दोहोरिन आआफ्नो पार्टीबाट वडाअध्यक्ष उम्मेदवारका आकांक्षी छन् । वडा नं ९ का अध्यक्ष रत्नबहादुर कटवालले पनि राजिनामा दिएको चर्चा थियो । तर, उनले भोली आइतबार मात्र राजिनामा दिने बताए । उम्मेदवार बन्न पदबाट राजिनामा दिनुपर्ने भएपछि जनप्रतिनिधिहरुले धमाधम राजिनामा दिइरहेका छन् । वडा अध्यक्षबाहेक धरानका विभिन्न वडाका सदस्यहरुले पनि राजिनामा दिइरहेका छन् ।