धरान: बैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा सत्तारुढ गठबन्धनमा एकपछि अर्को ट्विष्ट आइरहेको छ । 

शनिबार दिउँसो मात्र धरानमा चुनावी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको थियो भने अन्य ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वडा सदस्यसम्म सिट बाँडफाँड गरेका थिए । वडाको सिट बाँडफाँड गरेको सार्वजनिक भएको केही घण्टा नबित्दै फेरि तीन दलिय गठबन्धन पनि धरापमा परेको छ । 

शनिबार राती कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच आकस्मिक बैठक बसेर मेयर र उपमेयरमा मात्र गठबन्धन गर्ने निर्णय गरेका छन् । उक्त निर्णय अनुसार अब २० वटै वडाहरुमा अध्यक्षदेखि सदस्यसम्म गठबन्धन दलले आ आफ्नौ उम्मेदवार उठाएर प्रतिस्पर्धा गर्ने भएका छन् । 

मेयर र उपमेयरमा भने केन्द्रको गठबन्धन अनुसार नै चुनावी गठबन्धन गरिने तर वडामा भने मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङले बताए । उनले भने, ‘वडाका उम्मेदवारका आकांक्षीहरु र कार्यकर्ताहरुको भावनालाई ख्याल गर्दै हामीले यो निर्णय गरेका छौ । मेयर र उपमेयरमा केन्द्रकै सहमति अनुसार गर्ने र वडामा मैत्रीपुर्ण प्रतिस्र्धा गर्ने सहमति गर्यौ ।’

माओवादी केन्द्रका अध्यक्ष मनोज भट्टराईले पनि कांग्रेससँग मेयर र उपमेयरमा मात्र चुनावी गठबन्धन गर्ने सहमति भएको पुष्टि गरे । दिउँसो वडा सदस्यसम्म सिट बाँडफाँडको सहमति भएपनि राती पुनः कांग्रेस नेताहरुले आकस्मिक बैठकमा बोलाएपछि नयाँ निर्णय गरिएको उनले बताए । ‘काग्रेसका साथीहरुले हामीले पाएको वडामा पनि दाबी गर्ने कुरा गरेपछि हामीले पनि छोड्न नसक्ने भयौ, र वडामा मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने सहमति गर्यौ,’उनले भने । 

अध्यक्ष भट्टराईले मेयर र उपमेयरमा पनि भोली के हुन्छ भन्ने टुंगो नभएको बताए । पार्टी केन्द्रबाट मेयर र उपमेयरको उम्मेदवार पनि दिएमा धरानमा माओवादी केन्द्र आफ्नै जनमतको आधारम चुनाव लड्नसक्ने पनि उनले बताए ।