धरान: धरान उपमहानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट अनुसार गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । 

मतगणना शुरु भएको पहिलो दिनदेखि नै राईले अग्रता लिइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौने ३ बजेसम्म खसेको मतमध्ये १९ हजार ९६१ मतगणना सकिएको छ । त्यसमध्ये गठबन्धनका मेयर उम्मेद्वार राईले ५६९० मत ल्याएर अग्रता कायमै राखेका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले पछ्याइरहेका छन् । साम्पाङको मत ५०८५ छ । गठबन्धनका राई र साम्पाङबीच ६०५ मतको अन्तर छ । 

एमालेबाट मेयर उम्मेद्वार मञ्जु भण्डारी ५००३ मतका साथ तेस्रो स्थानमा पुगेकी छिन् । उपमेयरमा गठबन्धनबाट उम्मेद्वार अइन्द्रबिक्रम बेघा ६३८८ मतका साथ अगाडि छन् । उनलाई एमाले उम्मेद्वार पदम इस्वोले ६१५९ मत प्राप्त गरेर पछ्याइरहेका छन् । दुवैबीच २२९ मतको अन्तर रहेको छ । धरानमा हालसम्म वडा नं १, २, ३, ४, ५, ६ र ७ को मतगणना सम्पन्न भइसकेको छ भने वडा नं ८, ९, १० र २० को मतगणना भइरहेको छ ।