धरान: धरानको वडा नं २० को मतपत्र विवाद चुलिदै गएको छ । 

माओवादी केन्द्रले शुरु गरेको नाराबाजी र प्रर्दशनमा अहिले नेपाली कांग्रेस पनि थपिएको छ । तर, दुवैको माग ठिक विपरीत छ । माओवादी केन्द्रले मतदान अधिकृतको हस्ताक्षर नभएको १८ वटा मतपत्र पनि सदर हुनुपर्ने माग गर्दै प्रर्दशन गरेको हो भने नेपाली कांग्रेसको कार्यकर्ताहरु वडा २० को अन्तिम मतगणना सार्वजनिक गर्नुपर्ने माग गरिरहेका छन् । दुवैको कार्यकर्ताहरु आमने सामने हुँदा निर्वाचन अधिकृतको कार्यालय परिसर तनावग्रस्त भएको हो ।

अवस्था तनावग्रस्त भएपछि सुरक्षाको लागि नेपाली सेना पनि परिचालन भएको छ । अहिले मतगणनास्थललाई जनपद, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेको छ । धरानको मेयर, उपमेयर र अधिकांश वडाहरुमा सत्तारुढ दलहरुको गठबन्धन भएपनि वडा नं २० मा कांग्रेस, माओवादी र एमालेको त्रिपक्षीय चुनावी भिडन्त थियो ।

मतगणना भइरहदा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर विनाको थियो । उक्त मतपत्रबारे सर्वदलीय बैठक बसेर वदर गर्ने र अधिकृतलाई विभागीय कारबाहीको सिफारिश गर्ने निर्णय भएपनि मतगणना सम्पन्न हुँदा कांग्रेसका वडाअध्यक्ष उम्मेद्वार पदम लिम्बुसँग माओवादीका उम्मेद्वार विजय लामा ४ मतले पछि परे । 

अन्तिम मतगणनाको परिणाम सार्वजनिक नभै माओवादी केन्द्रका वडाका कार्यर्ताहरुले विरोध प्रर्दशन शुरु गरेपछि अहिले धरान तनावग्रस्त भएको हो भने मतगणना कार्य पनि स्थगित छ । निर्वाचन अधिकृत पुष्करराज नेपालले निर्वाचन आयोगसँग समन्वय गरेर माओवादी केन्द्रको लिखित माग पेश गर्न आग्रह गरेको र आयोगको निर्णय अनुसार अघि बढ्ने भन्दै अन्य वडाको मतगणना सुचारु गर्न आग्रह गरेपनि माओवादीले मानेको छैन । माओवादी केन्द्रले लिखित माग पेश गरेको छ भने अहिले सर्वदलीय बैठक बसिरहेको छ ।