धरान: धरानको कार्यपालिका सदस्यमा नेकपा एमालेबाट ८ जना निवार्चित भएका छन् ।

आज सम्पन्न भएको निर्वाचनमा महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकतर्फ ३ जना एमालेबाट निवार्चित भएका हुन् । उनीहरु निवार्चिन भएसँगै कार्यपालिकामा पनि एमालेको बहुमत संख्या १८ जना पुगेको छ । कार्यपालिका ३० जनाको हुन्छ । कुल १०२ जना नगरसभामा पनि एमालेको बहुमत संख्या ५६ रहेको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ सावित्रा परियारले ५८, देवीमाया विश्वकर्माले ५६, विनिता बज्रचार्यले ५६, रविना गुरुंगले ५५ र सृर्जना नेपालले ५४ मत प्राप्त गरेर निवार्चित भएका छन् । यस्तै, महिला सदस्यमा गठबन्धनबाट उम्मेद्वार रहेका रहिसा कसजु ४५, रिता सुन्दास ४५, शुसिला श्रेष्ठ ४५, शोभा विक ४५ र शेषकुमारी घिमिरेले ४७ मत प्राप्त गरेका छन् । 

कार्यपालिका सदस्यमा दलित तथा अल्पसंख्यक सदस्यतर्फ पनि एमालेबाट अनुप देवानले ५१ मत, दिनेश विश्वकर्मा ५२ र विकास भाटी ५३ मत प्राप्त भएर निवार्चित भएका छन् । गठबन्धनका उम्मेद्वार प्रेमकुमार राई ५०, सन्तोष विश्वकर्मा ४६ र सर्वजित राईले ४८ मत प्राप्त गरेका थिए । 

धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवन रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि मतदान शुरु भएको हो । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निवार्चित १०२ जना नगरसभा सदस्यहरुले मतदान गरेका थिए । पाँच जना महिला नगरसभा सदस्य (वडा सदस्य)मा निवार्चित भएकाहरुमध्येबाट चुनिएका हुन् भने ३ जना बाहिरबाट दलित तथा अल्पसंख्यक समुदायका व्यक्तिहरु चुनिएका हुन् । यो व्यवस्था नेपालको संविधानमै गरिएको छ ।

भिडियो: