धरान: सोमबार भएको धरानको कार्यपालिका निर्वाचनमा एमालेको मतदाता ५६ जना निवार्चित नगरसभा सदस्य थिए । यो १०२ जनाको नगरसभामा बहुमत संख्या हो । 

बहुमत नगरसभा सदस्य भएकोले कार्यपालिकामा उम्मेद्वार बनाइएका एमालेका ८ जनाको सहजै जित हासिल गर्नुपर्ने हो । तर, निर्वाचन परिणाम भने त्यस्तो सहज भएन । एमालेका कसैले ५८ मत प्राप्त गर्दा कसैले भने ५१ भोट मात्र पाए । गठबन्धनको मत ४३ मात्र थियो, तर गठबन्धनका उम्मेद्वारले भने ५० मत पाएका थिए । यसले गर्दा एमालेको भोट धेरै क्रस भएको प्रष्टै छ । 

एमालेले आफ्नो भोट क्रस नहोस् भनेर निवार्चित जनप्रतिनिधिहरुलाई धनकुटाको हिलेमा २ दिन राखेको थियो । एमालेको कार्यपालिका सदस्यको उम्मेद्वार छनौटमा असन्तुष्टी सतहमै देखिएकोले पनि भोट क्रस हुने अनुमान थियो । तर, पार्टीले टिकट दिएर निवार्चित भएका वडाअध्यक्ष, वडा सदस्यहरु (जो नगरसभा सदस्य हुन्छन्)ले भोट क्रस गर्दैनन् कि भन्ने झिनो आशा पनि नेताहरुमा थियो । हिलेमा जनप्रतिनिधिहरुलाइ आजैको मितिदेखि राजिनामा भन्ने व्यहोराको राजिनामा पत्रमा हस्ताक्षर गराएकोले पनि भोट क्रस नहोला भन्ने थियो । तर, मतपरिणामले भोट क्रस भएको स्पष्ट भएको छ ।

karya

धरानमा बैशाख ३० गतेको निर्वाचनबाट कुल १०२ जना नगरसभा सदस्यहरु निवार्चित भएका छन् । त्यसमध्ये नेकपा एमालेबाट ५६ जना निवार्चित छन् । यो नगरसभामा बहुमत सदस्य हो । यस्तै, नेपाली कांग्रेसबाट ३७ जना निवार्चित छन् भने माओवादी केन्द्रबाट ६ जना निवार्चित छन् । गठबन्धन दल कांग्रेस र माओवादी केन्द्र दुवैको जोड्दा पनि ४३ जना मात्र पुग्छन् । वडा १४ का अध्यक्ष राप्रपाबाट निवार्चित हुन् भने वडा ६ का अध्यक्ष स्वतन्त्र हुन् । मेयर पनि स्वतन्त्रबाट निवार्चित भएका छन् । 

कसले कति पाए मत ?

karyapalika 1

एमालेबाट महिला कोटाबाट कार्यपालिका सदस्यमा निवार्चित सावित्रा परियारले ५८, देवीमाया विश्वकर्माले ५६, विनिता बज्रचार्यले ५६, रविना गुरुंगले ५५ र सृर्जना नेपालले ५४ मत प्राप्त गरेका थिए । महिला सदस्यमा गठबन्धनबाट उम्मेद्वार रहेका रहिसा कसजु ४५, रिता सुन्दास ४५, शुसिला श्रेष्ठ ४५, शोभा विक ४५ र शेषकुमारी घिमिरेले ४७ मत प्राप्त गरेका थिए । जबकी एमालेको भोट ५६ र गठबन्धनको मात्र भोट ४३ हो । 

दलित तथा अल्पसंख्यक सदस्यतर्फ पनि एमालेबाट अनुप देवानले ५१ मत, दिनेश विश्वकर्मा ५२ र विकास भाटी ५३ मत प्राप्त गरे । गठबन्धनका उम्मेद्वार प्रेमकुमार राई ५०, सन्तोष विश्वकर्मा ४६ र सर्वजित राईले ४८ मत प्राप्त गरेका थिए ।