धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले विभिन्न पदहरुमा नियुक्ती गरेका छन् ।

अस्पताल सेवालाई प्रभावकारी तथा चुस्त, दुरुस्त बनाउन एक जना डेपुटी अस्पताल निर्देशक र २ जना सहायक अस्पताल निर्देशकमा नियुक्त गरेका हुन् । यस्तै, प्रतिष्ठानको प्रवक्तामा पनि उपकुलपति डा.गिरीले नियुक्ती दिएका छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार सुचना प्रवाहलाई प्रभावकारी बनाउन प्रक्तामा एनेस्थेसियोलोजी विभागकी प्रा.डा.कृष्णा पोखरेललाई नियुक्त गरिएको छ ।

यसैगरि, अस्पताल सेवालाई चुस्त, दुरुस्त बनाउन डेपुटी अस्पताल निर्देशकमा एनेस्थेसियोलोजी विभागका एसोसियट प्रोफेसर डा.जगत नारायण प्रसादलाई नियुक्ती गरिएको छ । अस्पताल सेवा अन्तर्गत वार्डहरु, ओ.टी र इमर्जेन्सी सेवाहरुको रेखदेख, सुपरिवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित गर्न सहायक अस्पताल निर्देशकमा सर्जरी विभागका एसोसिएट प्रोफेसर डा.लोकेश शेखर जयसवाललाई जिम्मेवारी दिइएको छ ।

यस्तै, अस्पताल सेवा अन्तर्गत ओ.पी.डी.।डेन्टल ओ.पी.डी., ल्याब सेवाहरु र रेडियोलोजी सेवाहरुको रेखदेख, सुपरिवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित गर्न सहायक अस्पताल निर्देशकमा प्रोस्थोडोन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.इन्द्र लिम्बुलाई कार्यभार दिइएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । चारै जनाको कार्यकाल बुधबारदेखि लागु भइसकेको पनि उनले बताए ।