धरान: धरान उपमहानगरपालिकाको मेन गेटअघि शुक्रबार पनि धरानका युवाहरुले खबरदारी गर्दै धर्ना दिएका छन् ।

सचेत धराने समुहको ब्यानरमा दिउँसो करिब ४ बजेपछि युवाहरुले धर्ना दिएका हुन् । उनीहरुले धरानको विकासमा सबैले मिलेर गर्न आग्रह गर्दै सर्दु जलाधार संरक्षण गर्न, खोला दोहान बन्द गर्न, सद्भाव कायम राख्नलगायत प्ले कार्ड पनि बोकेका थिए । कार्यपालिका बैठक बिहिबार स्थगित भएकोमा पनि प्रश्न उठाउदै युवाहरुले धर्ना बसेका हुन् ।

सचेत धराने समुहमा अधिकांश युवाहरु अधिकांश गत निर्वाचनमा मेयर हर्क साम्पाङलाई समर्थन गर्नेहरु छन् । बिहिबार दिउँसो २ बजेको कार्यपालिका बैठक वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बहिष्कार गरेपछि स्थगित भएको थियो । बैठकको समय अघि मेनगेटमा मेयर साम्पाङको समर्थनमा प्ले कार्डसहित धर्ना भएको थियो । बिशेष गरि खोला ठेक्का लगाउने मेयर साम्पाङको एजेण्डा वडाअध्यक्षहरुले फेल गराएको भन्दै प्रर्दशनमा उत्रिएकाहरुले आक्रोश पोखेका थिए । सोही कारण देखाउदै वडाअध्यक्षहरु बैठकमा नआएपछि हिजो कार्यपालिका बैठक स्थगित भएको थियो ।

आज पनि खबरदारी गर्दै धर्नामा बसेकाहरुले प्ले कार्डहरु बोकेका थिए । तर, उनीहरुले कुनै पार्टी वा जनप्रतिनिधिविरुद्ध नभएको प्रष्टीकरण दिएका छन् । धर्नामा सहभागी धरान ८ का युवा रमेश राईले जनमतअनुसार धरानको विकास, निर्माणमा अघि बढ्न खबरदारी गरिएको बताए ।