धरान: केही दिनअघि नै मेयर हर्क साम्पाङले आज शनिबार मध्याह्न १२ बजे निशाने खोला किनार (बगर)मा भूपू सैनिकहरुसँग बैठक बस्ने घोषणा गरेका थिए । कति आउलान् भूपू सैनिकहरु ? सबैलाई चासो थियो । 

आज शनिबार दिउँसो निशाने खोलामा जनलहर उर्लियो । श्रमदान गर्न मात्र होइन, निशाने खोलामा चलिरहेको खानेपानीको योजनाको लागि आर्थिक सहयोग गर्नेहरुको लर्को नै लाग्यो । केटाकेटी, महिला, युवायुवती, वृद्धवृद्धाहरु पनि श्रमदान गर्न पुगेका थिए । वृद्ध भूपू सैनिकहरु पनि मेयर साम्पाङको विकासको काम हेर्न पुगेको प्रतिक्रिया दिए ।

nishane-click1

तिनै मध्ये हुन्, ८४ बर्षीय भूपू ब्रिटिश आर्मी लालबहादुर लुङफुङ्वा लिम्बु । मेयरले भूपू सैनिकहरुलाई बोलाएपछि आफु हर्क साम्पाङको विकास हेर्न आएको उनले बताए । ‘यस्तो काम पहिला नै हुनुपर्ने थियो । अहिले शुरु भएको छ, एकदम राम्रो भयो,’उनले भने । 

विकासमा जनसहभागिता हेर्न पुगेका धरान १८ स्थित डिपोट स्कुलका प्रिन्सिपल राजकुमार राईले पनि ज्यादै उत्साहजनक सहभागिता भएको प्रतिक्रिया दिए । यो सहभागिता र उत्साहलाई स्थानीय सरकारले सदुपयोग गरेमा विकासको आधारहरु खडा हुने उनले धारणा राखे । मेयर साम्पाङले धरानको विकासमा भूपू सैनिकहरुको महत्वपुर्ण योगदान भएकोले उनीहरुको सहभागिता विना विकास सम्भव नभएको बताए । आफ्नो स्तरबाट निर्णय गरेर विकासको संयन्त्र बनाएर भूपू सैनिकहरुलाई सँगै लिएर अघि बढ्ने पनि उनले बताए । 

भिडियो:

nishane-click2

nishane-click3