धरान: सेभ घोपाा क्याम्प अभियानले ११७ औं दिनमा आन्दोलनको क्रममा जुटेको सहयोग तथा खर्चको हिसाब सार्वजनिक गरेको छ । 

वीपी प्रतिष्ठानको डेन्टल गेटअघि शनिबार आयोजित धर्ना तथा पत्रकार सम्मेलनको क्रममा हिसाब सार्वजनिक गरेको हो । हामी नेपाल संस्थाकी सृष्टी श्रेष्ठले आन्दोलनको क्रममा आएको सहयोग, खर्च र बचत रकम सार्वजनिक गरेकी थिइन् । साथै उनले उक्त हिसाबको विल भौचरहरु सबै हामी नेपालको वेभसाइटमा अपलोड गरेर पनि सार्वजनिक गरिने बताइन् ।

पत्रकार सम्मेलनमा हामी नेपालका अध्यक्ष सुदन गुरुङले आफुमाथि लागेको आरोपहरुको खण्डन गर्ने क्रममा नेपाली नागरिकता पनि सार्वजनिक गरेका थिए । उनलाई सामाजिक सञ्जालहरुमा भारतीय नागरिक भएको आरोप लाग्दै आएको छ । उनले आफु नेपाली भएको प्रमाण पेश गर्दै झुटो भए जुत्ताको माला लगाएर धरान बजार घुमाउन पनि चुनौती दिए । 

sudan-gurung1

साथै, आफु कही कतैबाट परिचालित नभएको र अहिलेसम्म कुनै पनि पार्टीको झण्डासमेत नबोकेको बताए । उनले वीपी बचाउ आन्दोलन यहाँ आउदा विरामीहरुले भोगेको सास्ती देखेर नै शुरुवात गरेको पनि जिकिर गरे । आफ्नो इन्ट्रागाम आइडीमा अपलोड भएको भिडियोहरु हेर्न सुझाव दिदै उनले कुनै खराब नियत वा परिचालित भएर नभै घटनाक्रमरुले नै आफुलाई वीपी प्रतिष्ठान सुधार गर्न प्रेरित गरेको पनि प्रष्ट्याए । 

मेयर साम्पाङ र धराने जनतासँग किन मागे माफी ?

sudan-gurung3

सुदन गुरुङले केही समयअघिको आफ्नो अभिव्यक्तिप्रति मेयर हर्क साम्पाङ र धराने जनतासँग माफी मागेका छन् । उनले मेयरले कसैलाई आइसियु मिलाइदिएको भन्ने अभिव्यक्ति दिएका थिए । तर, उक्त आइसियु मेयर साम्पाङको मामाको छोरी गम्भीर विरामीको लागि मिलाइएको र पछि उनको निधनसमेत भएको आफुले थाह पाएको भन्दै उनले आफ्नो त्यसबेलाको अभिव्यक्तिप्रति माफी मागेका हुन् ।

उनले मेयर साम्पाङको स्थानमा आफु पनि भए र अरुले त्यसरी आलोचना गरे पक्कै पनि आफुलाई रिस उठ्ने भन्दै आफुले गलत अभिव्यक्ति दिएको स्वीकारेका थिए ।  यद्यपी उनले त्यसबाहेक मेयर साम्पाङलाई प्रश्न गरेको बिषयमा भने माफी नमाग्ने बताए । गुरुङले मेयर साम्पाङ अहिले सबैको अभिभावक भएकोले वीपी प्रतिष्ठानबारे आफुले पनि अभिभावकसँग चित्त दुखेको कुरा मात्र पोखेको बताए । 

यस्तै, गुरुङले मेयर भएर ढुंगा बोक्ने जाने ? भन्ने आफ्नो भनाईप्रति पनि धरानबासीहरुसँग माफी मागेका छन् । आफ्नो अभिव्यक्तिले श्रमदान गर्ने धरानबासीहरुको भावनामा चोट पुगेकोले उक्त अभिव्यक्तिप्रति माफी मागेको गुरुङले बताए । उनले आफु जस्तो सुकै सजाय भोग्न पनि तयार रहेको बताए ।

यस्तै उनले वीपी प्रतिष्ठानका राम्रो काम गर्ने डाक्टरहरुको पनि चित्त दुःखाएकोले माफी माग्ने तर गलत डाक्टरहरुसँग माफी नमाग्ने बताए । भ्रष्ट कर्मचारीहरुकोविरुद्ध निरन्तर लडिरहने भन्दै राम्रो काम गर्ने डाक्टर र कर्मचारीहरुलाई सम्मान गर्ने पनि बताए । राम्रा फार्मेसी सञ्चालकहरुलाई पनि चोट पुगेको भन्दै गुरुङले माफी मागे । तर, वीपीका चिकित्सकहरुसँग साँगगाठ गरेर औषधी व्यापार गर्नेहरुसँग भने नझुक्ने उनले बताए । 

भिडियो:

हिसाब सार्वजनिकको भिडियो: